एक घर एक उपहार



घर–घरमा ग्यासको पाइप लाइन, चीन र भारतबाट रेल, आफ्नै खानी उत्खनन् गरी तेल यस्तो दाबी ओली सरकारले हालसाल गर्या होइन, अघिल्लो कार्यकालकै हो।

अहिलेको कार्यकालको शुरुआतमै पनि यस्तै प्रकृतिको ओली वाण दोहोरिएकै हो, प्रतिवद्धता घन्किएकै हो तर कति कार्यान्वयन भयो भएन, पाठक वृन्दले छुट्याएको राम्रो।

राजतन्त्र ब्यूँत्याउने र सरकारविरुद्ध देशी विदेशी शक्ति परिचालन गर्ने खेलले हो कि क्या हो ओली वाण गन्तव्यमा पुग्न सक्या छैन्, बतासिएर कता हराउँछ कता, बुझिसाध्य छैन।

आफ्नो प्रतिवद्धता बिर्सिने तर दाबी गर्न नछोड्ने दुई तिहाई सरकारका मन्त्री र संसद् सार्वजनिक कार्यक्रममा निकै थकित देखिन्छन्, लाग्छ कि उनीहरू वाण खोज्न जुट्या जुट्यै छन्।

कस्तुरी मृगले आफ्नै शरीरमा भएको विना नदेखेर विना खोज्न जंगलमा रन्थनिए जस्तो पो हो कि ?

आफ्ना अनेकौ दाबीमा तालाचाबी कस्न नसक्ने सरकारले जनतालाई अहिले अचम्मैको रेकर्ड कायम गर्ने भएको छ।

५६ जिल्लामा डेंगु सम्राज्य विस्तार भइसकेको छ। नेपाली जनताले एक घर एक डेंगु उपहार पाएका छन्।

अर्थात् घरै पिच्छे कोही न कोही बिरामी भएको खबर सुनिन्छ। मन्त्री, सांसद र डाक्टरसमेतले यस्तो बम्पर उपहार पाइसकेका छन्।

सरकार यस्तै लचक हुने हो भने डेंगुको दादागिरी अन्य जिल्लामा पनि फैलने निश्चित छ। यस्तै भएसी रहन्न त रेकर्ड ?

प्रतिक्रिया दिनुहोस्