नाडाल पुगे फेडेरर नजिक



न्युयोर्क, (एजेन्सी)। यूएस ओपन जितेपछि राफाल नाडाल स्विस खेलाडी रोजर फेडेररको कीर्तिमानी २० ग्रान्डस्लाम उपाधि नजिक पुगेका छन्।

न्युयोर्कमा आइतबार राति भएको फाइनल खेलमा स्पेनी खेलाडी नाडालले रुसका डानिल मेदभेदेभलाई पाँच सेटमा हराएका थिए।

४ घण्टा ५१ मिनेटसम्म चलेको सो खेल नाडालले ७–५, ६–३, ५–७, ४–६, ६–४ ले जितेका थिए। ३३ वर्षीय नाडालको यो चौथो यूएस ओपन र १९औं ग्रान्डस्लाम उपाधि हो। उनी अब फेडेररसँग बराबरी गर्न एक उपाधिबाट टाढा रहेका छन्।

३८ वर्षीय फेडेररले पुरुष सिंगल्सतर्फ २० ग्रान्डस्लाम उपाधि जितेर सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमान राखेका छन्।

तेस्रो स्थानमा सर्बियाका नोभाक जोकोभिच रहेका छन्। उनले १६ ग्रान्डस्लाम उपाधि जितेका छन्। पछिल्ला १२ ग्रान्डस्लाम उपाधि यी तीनै खेलाडीको हातमा गएका छन्।

२३ वर्षीय मेदभेदेभले उपाधि जित्ने ठूलो मौका पाएका थिए। तर उनी सफल भएनन्। पहिलो पटक ग्रान्डस्लाम फाइनल पुगेका उनले पहिलो दुई सेट गुमाएर पनि नाडाललाई कडा चुनौती दिएका थिए।

उनले त्यसपछिका लगातार दुई सेट जित्दै खेललाई रोमाञ्चक बनाएका थिए। तर उनी निर्णायक सेटमा नाडालको अनुभवसँग हार्न पुगे। उनी पहिलो ग्रान्डस्लाम फाइनललाई अविस्मरणीय बनाउनबाट बञ्चित भएका थिए।

प्रतिक्रिया दिनुहोस्