हस्तकला र पर्यटकीय पूर्वाधारमा ध्यानाकर्षण गराइने



नेपाल समाचारपत्र, ललितपुर।ललितपुर जिल्लाको समग्र आर्थिक विकास र उद्यमीको हकहित गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर चेम्बर अफ कमर्सले आफ्नो नीति सार्वजनिक गरेको छ।

एक महिना अघि जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको सो संस्था नेपाल चेम्बर अफ कर्मशको ७२औं शाखा रहेको छ।

सोमबार ललितपुरको मानभवनमा पत्रकार भेटघाट गरी कमर्सले आफ्नो नीति सार्वजनिक गरेको हो।

उद्यमी, व्यवसायीमा एकता, समन्वय र मैत्रीपूर्ण सद्भाव विकास गरी तिनका समस्यालाई जोडडार रुपले उठाउन कमर्स गठन गरिएको अध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो।

त्यसैगरी जिल्लाको आर्थिक विकास र उद्यमीलाई संगठित गराउन नगरपालिका र गाउँपालिकास्तरीय चेम्बर अर्फ कमर्स स्थापना गर्ने पनि कमर्सका नीति रहेको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, प्रदर्शनीको आयोजना गर्ने र सहभागी हुने उल्लेख गर्दै सरोकारवाला सबैसँग सहकार्य गर्ने पनि बताइएको छ।

कमर्सले अहिले व्यवसायीहरूले भोग्नु परिरहेको समस्या समाधानको लागि गरिने पहलकदमीलाई तत्कालीन कार्यक्रमको रुपमा अघि सारेको छ।

करको दायरा नबढाई दर बढाएकोमा संघ र स्थानीय तहको ध्यानाकर्षण गराउने कार्य पनि अध्यक्ष शाक्यले बताउनुभयो।‘ कर लिने कार्यलाई जटिल र अव्यावहारिक रहेको छ।’ उहाँले भन्नुभयो।

कला नगरीको घोषणा अनुरुप कार्य अपेक्षाकृत रुपले अघि नबढेको जनाउँदै यस विषयमा ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराइने कमर्सले जनाएको छ।

वल्र्ड क्राफ्ट काउन्सिलले गत वर्ष कार्तिक २८ गते ललितपुर नगरलाई विश्वको ३५औं हस्तकला नगरी घोषणा गरेको थियो।

घोषणाको श्रेय लिन सबैले हतार गरे पनि कला र संस्कृति सम्बन्धी १२ बुँदे घोषणापत्र कार्यान्वयनमा उदासिनता देखाएको भन्दै कमर्सले सो विषयमा ध्यानाकर्षण गराउन लागिएको हो।

त्यसैगरी महालक्ष्मी नगरपालिकास्थित लुभुलाई टेक्सटायल नगरी बनाउनुपर्ने, पर्यटन वर्षलाई लक्षित गरी आवश्यक व्यवस्थापकीय र पूर्वाधार तयार गर्नुपर्ने पनि कमर्सको माग रहेको छ।

‘पर्यटन वर्षको रटान गरेर मात्र पर्यटक ओइरिने होइन। यसका आवश्यक तयारी अघि बढाउनुपर्दछ, अध्यक्ष शाक्यले भन्नुभयो–‘महानगरपालिका र महालक्ष्मी नगरपालिकाको आर्थिक विकासमा हस्तकला र टेक्सटायलको विषय निकै महत्वपूर्ण विषय हो।यसमा दुवै नगरपालिका गम्भीर बन्नुपर्दछ।’

सुनचाँदी, निर्माण सामग्री, हस्तकला, कपडा लगायत वस्तुगत संघ नै संगठनात्मक मेरुदण्ड रहेको उल्लेख गर्दै कमर्सले त्यसको सबलीकरण, संगठनात्मक पद्दति बसाल्ने कार्यमा ध्यान केन्द्रित हुने जनाएको छ।

त्यसको लागि निरन्तर तालिम सञ्चालन गर्ने कमर्सले जानकारी दिएको छ।
कमर्सले जिल्लाका ६ वटै स्थानीय तह, उद्यमी व्यवसायीको सहभागितामा चाँडै नै संस्थाको मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गन पनि कमर्सका महासचिव सुविन बज्राचार्यले जानकारी दिनुभयो।

कमर्सले महिला चेम्बर पनि गठन गर्ने जनाएको छ। सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघ हुँदाहुँदै समान प्रकृतिको संस्था किन चाहिएको भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष शाक्यले भन्नुभयो–‘जनसंख्या वृद्धि, स्थानीय तहको संरचना, उद्यमी, व्यवसायीहरूको संख्यात्मक वृद्धि र व्यावसायिक वातावरणमा आएको नयाँ चुनौती सामना गर्न कमर्स स्थापना गरिएको हो।’

क्राफ्ट सिटीको घोषणा भएर सबै खुशी छन्, घोषणा अनुरुप काम अघि बढाउन सरोकारवाला उदासिन भएको अवस्थामा के गर्नुहुन्छ त भन्ने प्रश्नको जवाफ दिँदै शाक्यले घोषणा अनुरुप काम अघि नबढाउने हो भने विश्वको कला नगरीको सूचीबाट ललितपुर हटाउने खतरा रहन्छ। त्यसैले सबै मिलेर घोषणा अनुरुप काम अघि बढाउन ध्यानाकर्षण गराउनुपर्दछ।

 

प्रतिक्रिया दिनुहोस्