बैंकको पेमेन्ट सिस्टम परिवर्तन गर्ने तयारी



नेपाल समाचारपत्र, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुखसँग छलफल भएको छ।

सोमबार राष्ट्र बैंकका पदाधिकारी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतबीच समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

चिनियाँ ह्याकर ले विभिन्न बैंकहरूको एटीएमबाट रकम लुटेपछि बैंक तथा वित्तीय संस्थामा प्राविधिक जोखिम बढेको छ।

बैंकले आफूलाई सुरक्षित बनाउनका लागि विभिन्न प्रयास गरेता पनि एटीएम चोरी प्रकरणपछि भने नयाँ चुनौती थपिएको भन्दै छलफल गरेका हुन्।

चिनियाँ ह्याकरले बैंकका एटीएमबाट रकम चोरी गरेपछि असुरक्षित महसुस गरिरहेका बैंक तथा वित्तीय क्षेत्रसँग राष्ट्र बैंकले सोमबार छलफल गरेको हो।

छलफलमा २८ वटा वाणिज्य बैंकलगायत विभिन्न विकास बैंक तथा अन्य वित्तीय कम्पनी सहभागी भएको राष्ट्र बैंकका प्रवक्ता निरौलाले बताउनुभयो।

बैंक तथा वित्तीय संस्थासँगको छलफलमा प्राविधिक सतर्कता कसरी अपनाउने भन्नेबारे छलफल भएको उहाँले बताउनुभयो। बैंकहरूले सुरक्षात्मक क्षेत्रतर्फ लगानी बढाउनुपर्नेमा राष्ट्र बैंकको जोड छ।

उहाँले भन्नुभयो–‘बैंक तथा वित्तीय क्षेत्रले प्रविधिको सुरक्षाको लागि बढीभन्दा बढी लगानी गर्नुपर्छ, यसै विषयमा आजको छलफल केन्द्रित भयो।’

छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)लाई तत्काल सिस्टम बदलेर सुरक्षित सेवा प्रवाह गर्न निर्देशन दिनुभएको प्रवक्ता निरौलाले जानकारी दिनुभयो।

सिस्टम बदलेर सेवा प्रवाह गर्न नेप्सलाई सात दिनको समय तोकिएको पनि उहाँले बताउनुभयो।

गत भदौ १६ गते शनिबार पाँच जना चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएमबाट ३ करोडभन्दा बढी रकम चोरी गरेका थिए।

त्यस घटनाको अनुसन्धानका लागि राष्ट्र बैंकको भुक्तानी विभागका महानिर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

उक्त छानबिन समितिले नेपाल तथा भारतबाट चिनियाँ ह्याकरहरूले ६ करोडभन्दा बढी रकम चोरी गरेको निष्कर्षसहितको प्रतिवेदन पेस गरेको थियो।

त्यसपछि नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टक (नेप्स)ले सिंगापुरबाट फरेन्सिक विज्ञहरू नै झिकाएर घटनाबारे छानबिन गरेको छ। यद्यपि, प्रतिवेदन सार्वजनिक नगर्दै उनीहरू आइतबार स्वदेश फर्किसकेका छन्।

राष्ट्र बैंकका प्रवक्ता निरौलाले फरेन्सिक विज्ञहरूको समूहले प्रारम्भिक प्रतिवेदन बुझाएको बताउनुभएको छ। उहाँका अनुसार, विशेष प्रतिवेदन भने उनीहरूले ३ महिनाभित्रमा बुझाउने छन्।

उहाँले भन्नुभयो–‘प्रारम्भिक प्रतिवेदनलाई नै आधार मान्ने अवस्था हुँदैन, त्यसैले उनीहरूको पूर्ण प्रतिवेदनको प्रतिक्षामा छौं।’

यस्तै, बैंकलाई सिस्टम राम्रो बनाउनुपर्नेमा जोड दिइएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले नेपाल समाचारपत्रसँग जानकारी दिनुभयो।

पछिल्लो समय प्रविधिमा निकै नै परिवर्तन भएका कारण सुरक्षा चुनौती बढेको उहाँले बताउनुभयो। ‘हामीले हाम्रो सिस्टमलाई विशेष अपग्रेड गर्ने र यस क्षेत्रमा लगानी बढाउनुपर्ने देखियो,’ उहाँले भन्नुभयो।

साथै अहिलेको मोनिटरिङ सिस्टमलाई अझै प्रभावकारी बनाउनुपर्ने देखिएको उहाँको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्