नाका पार गर्न अनेक बहाना



बाँके, (नेस)।एकजनाको हातमा बोरा थियो, अर्कोको हातमा सानो झोला। दुवै महिलाको गन्तब्य एकै थियो – कुवेत। तर, उनीहरूले नेपालगञ्ज नाकामा भनिरहेका थिए, ‘सीमावर्ती भारतीय बजार रुपैडिहामा सामान किन्न जान थालेका हौ।’

एकजनाको साथमा पाँच सय रुपैया थियो। अर्कोको साथमा एक रुपैया पनि थिएन। तर, पनि उनी भन्दै थिइन्, रुपैडिहामा सामान किन्न थालेको हो।

उनलाई रुपैडिहामा सित्तैमा सामान मिल्नेवाला त थिएन। जहाँ पैसा बिना बात मारिदैन, त्यहाँ सित्तैमा सामान मिल्ने कुरै हुँदैन। तर, के गर्नु दलालले घोकाएकै यस्तै थियो। सुँगालाई ‘पट्टु’ भन्न सिकाएजसरी।

उनीहरू यस क्षेत्रका पनि थिएनन्। थिए त एकजना झापा र अर्की मोरङकी। झापा र मोरङबाट नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपैडिडामा सामान किन्न भन्दै बोरा बोकेर आएका थिए। त्यसमा पनि रित्तो गोजी।

हाउभाउ, बोलीचालीले गर्दा दुवै महिला शंकाको घेरामा परे। सोधपुछ हुँदै गयो। धेरैबेर पछि पोल खुल्यो। बोरा बोक्नु त नाका पार हुने बहाना थियो।

भौतिक शरीर नेपालगञ्जको नाकामा रोकिएपनि मन त उनीहरूको दिल्ली हुँदै कुवेत पुगिसकेको थियो। झापा र मोरङका उनीहरूले शुरुमा एक अर्कालाई चिन्दैनौ भन्दै थिए।

पछि केही सीप नलाग्ने माने क्या हो, काठमाडौंमा आएपछि चिनजान भएको स्वीकार गरे। दलालले काठमाडौंमा राखेर नेपालगञ्ज ल्याउनु अघि उनीहरूको परिचय भएको थियो।

जति नै बहाना गरेपनि नाकामा पक्राउ परेपछि अन्ततः उनीहरूलाई आफन्तको जिम्मा लगाइयो।

केही दिनअघि दुई युवती पनि सामान किन्न भन्दै नाका पार गर्दै गर्दा समातिए। चोरले केही न केही प्रमाण छोड्छ भनेझै उनीहरू ‘अभ्यस्त’ भएर सामान किन्न जाने भन्दै नाका पार गर्न लम्किरहदा शंकाको घेरामा परेका थिए।

सोधपुछ चलिरहदा पैसाको कुराले उनीहरू समातिए। एकजनाको साथमा तीन सय र अर्काको साथमा एक सय ७० रुपैया थियो। रुपैडिहा किनमेल गर्न हिड्ने, एक सय ७० रुपैया लिएर, त्यतिले के नै आउँथ्यो र ?

यी दुई प्रतिनिधिमूलक घटना हुन्। खासमा एकदमै भीडभाड हुने भएकाले दलालले नेपालगञ्ज नाकालाई जोखिमपूर्ण यात्राको लागि सहज मान्ने गर्दछन्।

सामान किन्न रुपैडिहा जानेको भीडमा छिराएर नाका पार गराउन सके दिल्ली हुँदै खाडीमुलुक पुर्याउन सकिन्थ्यो भन्ने दलालको एकसूत्रीय धारणा रहने गरेको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्