पेट्रोलियम पाइपलाइनको सबै तयारी पूरा



वीरगन्ज, (नेस)।नेपाल–भारतको गौरवका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन आज मंगलबार हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा पाइलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरूपमा पाइपलाइन उद्घाटन गर्ने वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले बताएको छ।

अमलेखगन्ज र मोतिहारीमा स्क्रिनमा यसको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ।

‘उद्घाटनको आवश्यक तयारी भइसकेको छ’ –नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो।

यसअघि गत साउन २ गते पाइपलाइनको परीक्षण गरिएको थियो। भारतीय आयल निगमले पाइपलाइनमार्फत मोतिहारी डिपोबाट डिजेल पठाएको थियो।

२०६१ सालमा नेपाल र भारतबीच रक्सौल अमलेखगन्ज पाइपलाइनको सम्झौता भए पनि निर्माण अलमलमा परेको थियो।

आईओसीले रक्सौलको पेट्रोलियम डिपोलाई मोतिहारी सार्ने तयारी थालेपछि पाइपलाइन पनि मोतिहारीबाटै बनाइएको हो।

२०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा स्वीच थिचेर यसको शिलान्यास गरेपछि निर्माणले गति लिएको थियो।

गत असारमा पाइपलाइनको काम सकिएको थियो। भारत सरकारको ४ अर्ब ४० करोड रुपियाँ सहयोगमा निर्मित पाइपलाइन मोतिहारीबाट ६९ किमि छ।

जसमा नेपालतर्फ ३७ र भारततर्फ ३२ किलोमिटर पर्छ। पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम ल्याउन सकिने एनओसीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्