लोपोन्मुख पंक्षीको संरक्षण गर्नुपर्ने



पाल्पा, (नेस)।लोपोन्मुख पंक्षीको संरक्षण गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्।

११ औं अन्तर्राष्ट्रिय गिद्ध दिवसको अवसरमा अंधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूह तानसेन ९ दमकडाले आयोजना गरेको निबन्ध प्रतियोगिता, मेधावी विद्यार्थी र ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्ने वक्ताले मानव जीवनमा प्रत्यक्ष जोडिएका लोपोन्मुख गिद्ध तथा अन्य पंक्षीको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्।

उनीहरूले पछिल्लो समयमा गिद्ध लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षण र प्रवद्र्धनमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी रहेको बताए।

कार्यक्रमा जिल्ला समन्वय समितिका सदस्य तुलबहादुर गाहाले लोपोन्मूख गिद्धको संरक्षणमा चासो नदिने हो भने मानवीय जोखिम बढ्दै जाने धारणा व्यक्त गर्नुभयो।

उहाले छरछरे सामुदायिक वन उपभोक्ताले गिद्ध संरक्षणमा खेलेको भूमिका अन्य सामुदायिक वनले पनि अनुसरण गर्नुपर्ने बताउनु भयो।

सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष निरञ्जन भुसालले मानव जीवनमा गिद्धको महत्वपूर्ण भूमिका रहेकाले यसको संरक्षणमा सबैलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

तानसेन नगरपालिका ७ का वडा अध्यक्ष मुक्तिराम जिसीले मरेका जिवजन्तु खाएर मानव जीवनमा हुन सक्ने महामारीलाई गिद्धले रोक्ने भएकाले गिद्धको संरक्षणमा वन उपभोक्ता समूह स्थानीय सरकार र आमनागरिकले ध्यान दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा दमकडा माविका प्रअ मोहनप्रसाद सापकोटा, सरस्वती माविका प्रअ शंकरप्रसाद पौडेल, बरा·दी कोहल सामुदायिक वनका अध्यक्ष कमला थापा, मूल गैरा सामुदायिक वनका अध्यक्ष यादवप्रसाद भट्टराईलगायतले आ–आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्