भाइरल ज्वरोको संक्रमण बढ्दै



नेपाल समाचारपत्र, डोटी।जिल्लामा पछिल्लो केही हप्तादेखि भाइरल ज्वरोका बिरामीको संख्या दिनहुँ बढ्न थालेको पाइएको छ।

यहाँको जिल्ला अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको संख्या एकाएक बढेको स्वास्थ्यकर्मी बताउछन्।

जिल्ला अस्पताल डोटीमा उपचारका लागि पुग्नेमध्ये अधिकांश स्थानीयमा भाइरल ज्वरो, निमोनियाको सक्रमण देखापरेको जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले बताउनुभयो।

वर्षादको समय तथा दूषित पानी प्रयोग गरेका कारण यहाँका स्थानीयमा भाइरल ज्वरोको सक्रमण देखापरेको उहाँको भनाइ छ।

हल्का ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जिउ दुख्नेलगायतका लक्षण भएका बिरामीको संख्या प्रतिदिन बढ्दै गएको शैलेश्वरी अस्पताल दीपायलका डा. ललित लिम्बुले बताउनुभयो।

जिल्ला अस्पताल डोटीमा दैनिक २०० भन्दाबढीको हाराहारीमा भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ।

भाइरल ज्वराको संक्रमण सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र महिलामा अधिक रहेको जिल्ला अस्पतालका डा. अवस्थीले जानकारी दिनुभयो।

त्यसैगरी यहाँका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरोका बिरामीको संख्या बढ्दो क्रममा रहेको जोरायल गाउँपालिका ६ निरौली स्वास्थ्य चौकीका सिनियर अहेब गोविन्द विष्टले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘दैनिक ४० जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी आउन थालेका छन्, उपचार गर्न निकै कठिन भएको छ।’

भाइरल ज्वरोले पाँच दिनदेखि एक हप्तासम्म प्रभावित गर्न सक्ने भएकाले स्वस्थ्य व्यक्तिले भाइरल ज्वरोको सक्रमण भएका बिरामीबाट टाढै बस्नुपर्ने चिकित्सकहरूले सुझाब दिएका छन्।

व्यक्तिगत सरसफाइ र खानपान तथा पानी उमालेर खानमा ध्यान दिन आवश्यक हुने डा. अवस्थीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्