रियलस्टेट कम्पनीलाई कित्ताकाट खुला



यमलाल भुसाल, बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा घरजग्गाको कित्ताकाट खुला गरिएको छ।

नगरपालिकाले मापदण्ड बनाएर नेपालमै पहिलोपटक नगरपालिकाभित्र व्यावसायिकरूपमा कम्पनीको नाममा रहेका जग्गामा कित्ताकाट खोलेको हो।

सरकारले मुलुकभर विसं २०७४ साउन २६ गतेदेखि नेपालभरि अंशबण्डाबाहेकको कित्ताकाट रोकेको थियो।

पुनः सरकारले विसं २०७५ पुसको २७ गते मापदण्डसहित कित्ताकाट खोलेको भए पनि कार्यान्वयन भने हुन सकेको थिएन।

सरकारले निर्धारण गरेको मापदण्डअनुसार तिलोत्तमा नगरपालिकाले कित्ताकाट खोलेको हो।

नगरपालिकाले निर्धारण गरेको मापदण्डअनुसार जग्गा कम्पनीको नाममा हुनुपर्ने, कम्तीमा २४ फुटे कालोपत्रे सडक, सडकको दायाँबायाँ नाली, खानेपानी, बिजुली हुनुपर्ने र जग्गाको क्षेत्रफलको आधारमा २ देखि ५ प्रतिशतसम्म खुला जग्गा राख्नुपर्ने छ।

त्यस्तै कित्ताकाट गर्ने कम्पनीको नगरपालिकामा १० कट्ठासम्मको जग्गामा २ लाख, ३० कट्ठासम्मको जग्गामा ५ लाख र त्योभन्दा बढी क्षेत्रफलको जग्गामा १० लाख रुपियाँ धरौटी जम्मा गरेको हुनुपर्ने जग्गा विश्लेषण समितिका सभापति तथा वडा नं. १३ का अध्यक्ष गणेश न्यौपानेले बताउनुभयो।

२०७६ वैशाख २६ गते नगरपालिकाको बैठकले वडा अध्यक्ष न्यौपानेको संयोजकत्वमा जग्गाको विश्लेषण समिति बनाएको र सोही समितिले स्थलगत अवलोकन तथा अध्ययनपछि गरेको सिफारिसका आधारमा मापदण्ड निर्धारण गरी गत साउन १९ गतेदेखि नगरपालिकाले कित्ताकाट गर्ने निर्णय गरेको हो।

नगरपालिकाले निर्णय गरेपछि पहिलोपटक दुर्गालक्ष्मी रियलस्टेट प्रालिले वडा नं. १२ मा यही भदौ १९ गते कित्ताकाट गरेको रुपन्देही घरजग्गा व्यवसायी संघले आइतबार तिलोत्तमाको ड्राइभरटोलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा रुपन्देही घरजग्गा व्यवसायी संघका अध्यक्ष दशरथ पौडेलले नगरपालिकाले कम्पनीलाई कित्ताकाट फुकुवा गरेर राम्रो काम गरे पनि अझै पूर्ण भने नभएको बताउनु भयो।

उहाँले नगरपालिकाले व्यक्तिगत जग्गामा समेत कित्ताकाट फुकुवा हुनुपर्ने माग गर्नुभयो। नगरपालिकाले १ सय ३४ सडक सञ्जालको आधारमा १७ वटै वडामा कृषि, बसोबास र औद्योगिक क्षेत्र छुट्याएर कित्ताकाटको मापदण्ड बनाएको संघका सदस्य रमेश डुमे्रले बताउनुभयोे।

प्रतिक्रिया दिनुहोस्