मरेका भारतीय कुखुराको मासु ओसार्ने आठ पक्राउ



विराटनगर, (नेस)। भारतमा मरेका कुखुरा ल्याई त्यसको मासु विराटनगरका फ्रेस हाउसहरूमा बिक्रीवितरण हुने गरेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय कुखुरासहित आठ जनालाई पक्राउ गरेपछि यसको पुष्टि भएको हो।

भारतीय सीमानाका जोगबनी हुँदै भारतीयले मरेका कुखुरा झोलामा राखेर नेपाल ल्याई फ्रेस हाउसमार्फत मासु बिक्रीवितरण गर्ने गरेको पाइएको हो।

नेपालमा भारतीय जिउँदो कुखुरा वा कुखुराको मासु ओसारपसार तथा बिक्रीवितरणमा रोक लगाइए पनि मरेका कुखुरा नै ल्याइएको फेला परेको छ।प्रहरीले भने अहिले पनि लुकाइछिपाइ भित्याएर बिक्री गर्ने गरेको खुल्न आएको बताएको छ।

मोरङका डीएसपी धनश्याम श्रेष्ठले अवैध रूपमा ल्याएकामध्ये धेरै कुखुरा मृत पाइएको बताउनुभयो।ओसारपसारमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन्।

विराटनगर महानगरपालिका–१५ स्थित हुलास मेटल छेउमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको एक सय ४४ वटा बोइलर कुखुरा आइतबार साँझ बरामद गरेको थियो।

आवश्यक कारबाहीका लागि पशु क्वारान्टाइन चेकपोस्ट विराटनगरमा पठाइएको र एक सयवटा कुखुरा मृत अवस्थाका रहेको प्रहरीले जनाएको छ।

बर्डफ्लुको संक्रमणपछि नेपालमा भारतीय पशुपंक्षी ओसारपसारमा रोक लगाइएको छ। तर, विराटनगरका कतिपय होटलमा भारतीय सस्तो कुखुराको तयारी मासु नै अवैध रूपमा ल्याएर बिक्री हुने गरेकोे छ।

प्रतिक्रिया दिनुहोस्