झापाका दुई स्थानमा बम विस्फोट



भद्रपुर, (नेस)। अज्ञात समूहले झापाका दुई स्थानमा बम विस्फोट गराएका छन्। झापाको विर्तामोड स्थित साहारा नेपालको निर्माणाधीन भवन र गौरादह नगरपालिका प्रमुख प्रशासकीयको सरकारी सवारी साधनमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

आइतबार राति साढे ११ बजे उनीहरूले विस्फोट गराएको जिल्लाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताउँनुभयो। गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा२झ २५७० नम्बरको बोलेरो गाडीमा क्षति पुगेको उहाँले जनाउनुभयो।

सुरक्षा निकायमा सवारी राख्न भने पनि मिश्रले कार्यालयनजिकै रहेको डेरामा राखेका थिए।

गाडीको टायरमुनि बम विस्फोट भएकाले धेरै क्षति भएको डीएसपी श्रेष्ठको भनाइ छ। साहाराको भवनमा सीसालगायतमा क्षति पुगेको छ।

घटनापछि सीसी क्यामेराको सहायताबाट सोमबार बिहान ४ बजे विर्तामोडबाट दुईजना सङ्कास्पद् व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो। उनीहरूको नाम प्रहरीले खुलाएको छैन।

घटनापछि विप्लव नेतृत्वको नेकपाले घटनाको जिम्मा लिएको जनाएको छ। नेकपाका झापा जिल्ला सेक्रेटरी मनीषले पत्रकारलाई फोन गर्दै बम विस्फोट गराएको घटनाको जिम्मेवारी लिएका हुन्।

साहारा गराइएको विस्फोटबाट भवनको झ्यालको सिसा फुटेको, सुरक्षा गार्ड बस्ने पोस्टमा र मे१च १८५१ नम्बरको गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ।

यसअघि विप्लव नेतृत्वको कार्यकर्ताले गैरनेपालीलाई नागरिकता दिएको आरोपमा बिर्तामोडको गरामनीस्थित संयुक्त वडा कार्यालयमा बम विस्फोट गराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्