रम्भा शतप्रतिशत विद्यार्थी भर्ना गाउँपालिका



नेपाल समाचारपत्र, पाल्पा। पूर्वी पाल्पाको रम्भा गाउँपालिकालाई शतप्रतिशत विद्यार्थी भर्ना भएको गाउँपालिका घोषणा गरिएको छ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आयोजना गरिएको एक कार्यक्रममा रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले घोषणापत्रमा हस्ताक्षर तथा उपाध्यक्ष राधादेवी श्रेष्ठले घोषणापत्र जारी गरी शत प्रतिशत विद्यार्थी भर्ना भएको गाउँपालिका घोषणा गरिएको हो।

रम्भा गाउँपालिकामा शैक्षिक सत्र २०७६ मा भर्ना भएका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका १ हजार ५ सय ५ जना बालबालिका विद्यालयमा भर्ना भएको र कुनै पनि बालबालिका विद्यालयबाहिर नरहेको प्रतिवेदनका आधारमा उक्त घोषणा गरिएको बताइएको छ।

कार्यक्रममा रम्भा गाउँपालिका विद्यालयमा ३० वर्ष भन्दा बढी सेवा गरेका शिक्षकलाई सम्मान गरिएको छ। आधारभूत तथा माध्यमिक शिक्षक गरी २ सय १२ जना सामुदायिक शिक्षक सेवारत रहेको गाउँपालिकाका ३० वर्षबढी अविच्छिन्न सेवा गरेका ३४ जना शिक्षकलाई दोसल्ला, सम्मानपत्रका साथै डायरी दिएर सम्मान गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले शैक्षिक विकासको लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने र यस कार्यमा सहयोग गर्न सम्पूर्ण प्रधानाध्यापक तथा शिक्षकमा आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्