निरक्षरता उन्मूलनमा रोटरीको ऐक्यबद्धता



काठमाडौं, (नेस)। समाजसेवी तथा व्यवसायीको संस्था रोटरी इन्टरनेसनल डिस्ट्रिक्टले सन् २०३० सम्ममा नेपालमा कोही पनि निरक्षर नरहून् भन्ने उद्देश्यका साथ साक्षरता अभियान सञ्चालन गरेको जनाएको छ।

रोटरीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसले देशव्यापीरूपमा पुर्याएको सेवाका बारेमा जानकारी गराएको छ।

विभिन्न पेसामा रहेका उद्यमी तथा व्यवसायी संलग्न भएको संस्था रोटरी नेपालमा २०१५ सालदेखि सक्रिय छ।

नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटीको स्थापना तथा सोका लागि आवश्यक उपकरणहरू, वीर अस्पतालको सीसीयू भवन निर्माण तथा नेपालमा पहिलो पटक भेन्टिलेटर सेवा सञ्चालन तथा उपकरणहरू प्रदान गर्ने काम रोटरीले गरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो।

यससँगै भक्तपुर क्यान्सर अस्पतालमा उपकरण, गंगालाल हृदय रोग केन्द्रमा रहेको सीसीयू तथा कार्डियाक एक्सरे इमेज ल्याब, कोशी अञ्चल अस्पतालमा आईसीयू तथा इन्सिनेटर, शीर मेमोरियल अस्पताल बनेपामा इन्सिनेटर, गौतम बुद्ध सामुदायिक हृदय रोग अस्पताल, बुटवलको भवन निर्माणबाहेक अन्य सम्पूर्ण उपकरण तथा ब्लड बैंक, पाटनको स्थापनालगायत हृदय रोग केन्द्र ललितपुर तथा नेसनल डेन्टल अस्पतालमा रोटरी क्लबले उपकरण प्रदान गरेको छ।

‘रोटरीले विश्वमा हरेक दिन, हरेक मिनेटमा कसैलाई खाना खुवाएको हुन्छ, कसैलाई स्वास्थ उपचार गरारहेको हुन्छ, कसैलाई स्कुल पठाएको हुन्छ, कसैलाई सम्मान गर्दै समाज सेवा तथा सुधारका कार्यक्रम गर्दै आएको हुन्छ,डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्