सामूहिकताको भावना राखेर सहभागी हुन अपिल



नेपाल समाचारपत्र, काठमाडौं।आजबाट शुरू हुने इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले छलफल शुरु गरेको छ। कामपाले सोमबार विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको हो।

पहिलो बैठक नेवाः जागरण मञ्चले आयोजना गरेको थियो। सो बैठकमा कामपाका मेयर विद्यासुन्दर शाक्यले जात्रामा सहभागी हुँदा सामूहिकताको भावना राखेर सहभागी हुन अपिल गर्नुभयो।

सो बैठकमा सुरक्षा र स्थानीयको समन्वयको बारेमा छलफल भएको थियो। जात्रा व्यवस्थितरूपमा सञ्चालन गर्न जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य, लाखे, पुलुकिसि, कुमारी, गणेश, भैरव, हल्चोक आकाश भैरव गुठीका प्रतिनिधिले हस्ताक्षर गराइएको थियो।

सो बैठकमा मेयर शाक्यले इन्द्रजात्राको दिगो व्यवस्थापनका लागि अक्षयकोष खडा गर्ने प्रयास भइरहेको बताउनुभयो।

अहिलेका लागि ५ करोड रुपियाँको कोष बनाएर र त्यसको सञ्चालन व्यवस्थापनका लागि कार्यविधि निर्माणको काम भइरहेको जानकारी दिनुभयो।

बैठकमा जागरण मञ्चका संयोजक सुजीव वज्राचार्य, सरसफाइ अभियानका संयोजक राजमान मानवले स्थानीयको उत्साहजनक सहभागिताले जात्रा जीवन्त हुने बताउँदै सबैले मिलेर जात्राको गरिमा बढाउनुपर्ने धारणा राख्नुभयो।

त्यसै गरी इन्द्रजात्रा अवलोकनमा सुरक्षालाई बलियो बनाउन सोमबार नै प्रमुख जिल्ला अधिकारी जनकप्रसाद दाहालसहित सुरक्षा निकायका प्रतिनिधिसँगको बैठक सम्पन्न भएको छ।

सांसद कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धरसहितको बैठकमा उपाकु मार्गमा श्रद्धालुहरूले निर्वाध हिँड्न पाउने वातावरण, जात्रामा मादक पदार्थ तथा नशालु पदार्थ सेवन गरेर आउनेमाथिको निगरानी, रथ यात्रा हुने मार्ग तथा त्यस आसपासका गल्ली र चोकमा हुन सक्ने सुरक्षा जटिलताका विषयमा कुराकानी भएको थियो। छलफलमा उपाकुजात्रामा परिक्रमा गर्ने स्थानमा सवारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो।

बैठकमा प्रजिअ अधिकारी दाहालले सुरक्षाका विषयमा कुनै चिन्ता नगरी अन्य तयारीका काम गर्न आस्वस्त पार्नुभयो। ‘उच्च अधिकारी र जात्राको स्थानीय सुरक्षाका हामीले रणनीति तयार पारिसकेका छौंँ –उहाँले भन्नुभयो।

जात्रामा हुने गतिविधि र उत्पन्न हुन सक्ने परिणाम आफूहरूलाई अनुमान रहेको प्रजिअ अधिकारीको भनाइ थियो।

यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न पहिलो पटक औपचारिकरूपमा निम्ता दिएका र कामपासँग भगिनी सम्बन्ध भएका ६ वटा देशका १३ वटा नगरबाट ५ जना मेयरसहित ४८ जना पाहुना आउने निश्चित भएको छ।

महानगरको अन्तरर्राष्ट्रिय सम्बन्ध सचिवालयका अनुसार चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इस्टदिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जुकमल कान्त र नर्थदिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको छ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ।

यसरी आउने पाहुनाको संख्या ४८ जना हुनेछ। अवलोकन टोली भाद्र २६ गते काठमाडौं आइपुग्नेछ भने भाद्र ३० मा स्वदेश फर्किनेछ।

प्रतिक्रिया दिनुहोस्