मानव बेचबिखन कहिले बन्द होला ?



कुनै पनि उद्देश्यले मानिसले मानिसलाई किन्ने, बेच्ने कामलाई मानव बेचबिखन भनिन्छ।

खासगरी अविकसित र अल्पविकसित देशमा यस्तो क्रियाकलाप हुने गर्दछ। प्रायजसो बेचबिखन हुनेमा महिला, बालबालिका अधिक मात्रामा रहन्छन्।

विश्वमा महिला तथा बालबालिका बेचबिखन विकराल समस्या बनेको छ। हरेक वर्ष लाखौं महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको पाइन्छ।

त्यस्तै गरिबको दलदलमा फसेका कतिपय चेलीबेटीहरूलाई सुखी जीवन र कामको प्रलोभन देखाएर विदेशमा लगी बेचिन्छ।

त्यहाँ वेश्यावृत्ति, घरेलुु कामदारको रूपमा राखिन्छ। त्यहाँ उनीहरू शारीरिक, मानसिक एवं अन्य प्रकारका हिंसाका सिकार भएका हुन्छन्। एक तथ्यांकअनुसार प्रत्येक वर्ष पाँच हजार युवतीहरू विभिन्न हिसाबले बिक्री भएका हुन्छन्।

यसरी जानेर वा नजानेर जब चेलीबेटीहरू बेचिन्छन् उनीहरूमाथि यौनशोषण हुन्छ। यसैले अधिकांशमा एचआईभीको सङ्क्रमण हुन्छ। त्यसपछि त घरको न घाटको अवस्था आउँछ।

बेचिएका चेली र बालबालिकालाई हेर्ने हाम्रो सामाजिक धारणा निकै नकारात्मक भएकोले उनीहरूलाई सहानुभूति र संरक्षण पाउन निकै कठिन हुन्छ। उनीहरूको बाँकी जीवन तिरस्कार र पीडामा जिउनुपरेको हुन्छ।

वास्तवमा उनीहरूको जीवन दयनीय छ। अधिकांश ग्रामीण महिला बढी बेचिएको अवस्था छ। चेतनाको कमी, शिक्षा र सीप विकासको अवसरहरूको अभाव, गरिबी र बेरोजगारी, उपयुुक्त कानुन र तिनको प्रभावकारी कार्यान्वयनको अभाव, लैंगिक विभेद र महिला शोषण, भारतसँगको खुल्ला सिमाना आदिको कारणले गर्दा महिला तथा बालबालिका बेचिएका छन्।

यसरी बेचिएका महिला तथा बालबालिकाको कथा दर्दनाक हुन्छ। किनकि उनीहरू गाउँ फर्कंदा उनीहरूलाई गर्ने व्यवहार फरक हुन्छ।

एकचोटि बेचिएका महिला तथा बालबालिकालाई समाजमा पुनर्मिलन गराउन सहज हुँदैन। त्यस्ता महिलालाई समाजसेवी महिला अनुराधा कोइरालाबाट स्थापित माइती नेपालले उद्धार र संरक्षणका रूपमा काम गरिरहेको छ।

त्यसै गरी वेश्यालयमा बेचिएर अनेक शारीरिक, मानसिक पीडा भोगेका चेलीहरूका लागि माइती नेपालले आश्रयस्थल प्रदान गर्नुका साथै सीपमूलक तालिम प्रदान गरिरहेको छ, तर पनि यो समस्या पूर्णरूपमा निराकरण भएको छैन।

यस्तो अपराध आजभोलि झन् बढ्दै गएको छ। अपरिचित व्यक्तिको सम्बन्धले गर्दा अपराध बढिरहेको छ। सामाजिक सञ्जालमार्फत प्रायः महिला बेचिएका छन्। उनीहरूले बाध्य भएर वेश्यावृत्तिजस्ता कार्य गर्नुको अलवा कुनै विकल्प हँुदैन।

अन्त्यमा आत्महत्याजस्तो गलत कदम उठाउन बाध्य हुन्छन्। कति खुलेर विरोध गर्दा पनि न्याय पाउन सकिरहेका हँुदैनन्। अपराधी खुलेआम घुमिरहेका छन् भने पीडित अझै शोषित भएका छन्।

पछिल्लो समयमा नेपालमा बलात्कारका घटना बढिरहेको छ। राज्यले यसप्रति ध्यान नदिएको हो वा स्वयम् पीडितले न्याय नखोजेको कारणले तथा विरोध गर्दा उल्टै लाञ्छना लगाउने कारणले पनि यो समस्या प्रमुख बनेको छ।

यसलाई नियन्त्रण गर्न विभिन्न कदम चाल्नु आवश्यक छ। जनचेतनाका कार्यक्रमहरू व्यक्ति, परिवार, समाज मिलेर शुरू गर्नुपर्छ।

मानव बेचबिखन रोक्न देशको कानुन बलियो भयो भने पक्कै यो समस्या निराकरण हुनेछ।

मानव बेचबिखन रोक्ने कार्यमा अघि बढेका व्यक्तिलाई उचित सम्मान दिई अझ हौसला प्रदान गर्नुपर्छ। पीडितहरूलाई निःशुल्क स्वास्थ्य उपचार एवम् समाजमा पुनस्र्थापन गराउनुपर्छ।

– सुजन त्रिपाठी, पोखरा।

प्रतिक्रिया दिनुहोस्