दैनिक १६ को अकालमा ज्यान जान्छ



नेपालमा नैराश्यता, डिप्प्रेसन, आर्थिक अभाव, क्षणिक आवेग, देखासिकी, प्रेममा असफल, रातारात धनी बन्ने सपना देख्नु र असफल हुनु, सामाजिक अपहेलना, पारिवारिक हिंसा, राजनैतिक दबाबका कारण निम्तिएको मानसिक समस्याले दैनिक १६ जनाले अकालमा ज्यान गुमाइरहेका छन्।

नेपाल मात्र नभएर आत्महत्याको समस्या विश्वमा नै चुनौतीको विषयका रूपमा रहेको छ। विश्वमा प्रत्यक ४० सेकेन्ड अर्थात् वर्षमा ८ लाख व्यक्तिको अकालमा मृत्यु हुँदै छ।

आत्महत्या न्यूनीकरण चुनौतीको विषय बन्दै जाँदा प्रत्येक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।

यस वर्ष पनि आत्महत्या रोकथाममा सबैको सहकार्य भन्ने नाराका साथ विश्वमा जनचेतनामूलक कार्यक्रम गरेर मनाउन लागिएको मानसिक अस्पताल जावलाखेलका निर्देशक डा. मोहनराज श्रेष्ठले आइतबार अस्पतालमा आयोजित छलफल कार्यक्रममा जानकारी गराउनुभयो।

‘मानिसले धेरै कारणले गर्दा आत्महत्या गर्ने गर्दछन्। यसको एउटै र यकिन कारण अहिलेसम्मको अनुसन्धानले पत्ता लगाउन सकेएको छैन।

तर, आत्महत्याका सूचना, स्थान, तस्वीर, आत्महत्यामा प्रयोग गरिएका सामग्रीको सचित्र वर्णनले भने मानिसमा नकारात्मक प्रभाव पार्न सक्ने अध्ययनले देखाएको छ’, नेपाल फर्मास्युटिकल्स ल्याबोरेटोरी प्रालिका डा. रवि शाक्यले भन्नुभयो– ‘प्रत्यक्ष प्रभाव ३ दिनसम्म पर्छ भने अप्रत्यक्ष २ सातासम्म पनि रहने हुनाले घटनाका बारेमा सार्वजनिक गर्दा मिडियाले पनि सूचनाका रूपमा मात्र पस्कनुपर्छ।’

आत्महत्यालाई प्राथमिकताका साथ प्रथम पृष्ठ या मुख्य समाचार नबनाउन पनि उहाँले सुझाव दिनुभयो।

विश्वमा आत्महत्याका विषयमा २० वर्षमा ठूला ठूला ५० भन्दा बढी घटनाका विषयमा अनुसन्धान गरिसकिएको भए पनि एकिन कारण भने पहिचान हुन नसकेको पनि उहाँले बताउनुभयो।

पछिल्लो समय नेपाल प्रहरीमा दर्ता भएका आत्महत्याको तथ्यांकअनुसार दैनिक १६ जना नेपालीले आत्महत्या गरिरहेका छन्।

यसमा ९० प्रतिशतभन्दा बढीले मानसिक तथा व्यावहारिक कारणले आत्महत्या गर्ने गरेको मनोचिकित्सकले बताउँदै आएका छन्।

विश्व मानसिक दिवसलाई लक्षित गरी मानसिक अस्पताल आयोजना गरेको पत्रकार सम्मेलनमा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीको भूमिका कस्तो रहन्छ भन्ने विषयमाथि छलफल गरिएको थियो।

विश्वका अन्य मुलुकमा समाचार सम्प्रेषणमा मापदण्ड तय गर्नुका साथै आत्महत्याको प्रयास गर्नेलाई कानुनी सजायको समेत व्यवस्था रहे पनि नेपालमा भने त्यस्तो व्यवस्था छैन।

‘विश्वको रेकर्डअनुसार बढी आत्महत्या गर्नेमा नेपाल पनि सातौं नम्बरमा पर्छ।’ –डा. शाक्य भन्नुहुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १५ देखि २९ वर्ष उमेर समूहमा मृत्युको दोस्रो प्रमुख कारण आत्महत्या हो। तर, नेपालका सन्दर्भमा भने प्रजनन उमेरका महिलाको मृत्युको प्रमुख कारण नै आत्महत्या रहेको कन्सलट्यान्ट साइक्याट्रिक डा. वासुदेव कार्की बताउनुहुन्छ।

‘आत्महत्या निरुत्साहन र न्यूनीकरणका लागि नेपाल सरकारले गतवर्षदेखि बजेट छुट्याए पनि जनशक्ति, कार्यक्षमता, ज्ञानका अभावमा बजेट नै खर्च नहुनेसम्मको अवस्था छ।

गत वर्ष सिन्धुपाल्चोकले खर्च नै गर्न सकेन भने कति प्रदेशमा आत्महत्या न्यूनीकरणका लागि बजेट छ भन्नेसम्म ज्ञान छैन। प्रत्येक प्रदेशमा यो आर्थिक वर्षमा पनि ९० लाखका दरले बजेट निकासा भइसकेको छ तर जानकार कोही छैनन्।’ –उहाँले भन्नुभयो।

नेपालमा कुल १ सय ५० जनाको हाराहारी मनोचिकित्सक तथा मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मी रहेको र नेपालका लागि एउटै मात्र मानसिक अस्पतालमा जम्मा ११ जना मनोचिकित्सक रहनुले पनि सरकारले मानसिक समस्यालाई स्वास्थ्य समस्याका रूपमा पहिचान नै गर्न सकेको छैन।

१० वर्षे द्वन्द्वका समयमा भएको मृत्युभन्दा आत्महत्याका कारण हुने मृत्युको संख्या डरलाग्दो भएको चिकित्सकहरूले जनाएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार ५ हजार ७ सय ५४ ले आर्थिक वर्ष २०७५/०७६ मा आत्महत्या गरेका छन्। आत्महत्या अकाल मृत्यु भएकाले न्यूनीकरणका लागि सबै क्षेत्रको पहल जरुरी छ।

‘सरकार मानसिक रोगलाई गम्भीर स्वास्थ्य समस्या स्वीकार्न तयार छैन। बल्ल १ वर्षदेखि मानसिक स्वास्थ्यलाई सम्बोधन गरेको भए पनि नसर्ने रोगअन्तर्गत एउटा कुनामा थन्क्याएको अवस्था छ।’

–इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फर्णिन्द्र बराल भन्नुहुन्छ।

हरेक दिन बाहिर पहिचान नभएका आत्मरोगका कारण १६ जनाको ज्यान गइरहेको विषयमा सरकार गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ।

प्रतिक्रिया दिनुहोस्