सुत्केरीलाई एम्बुलेन्स भाडा !



सिन्धुपाल्चोक,(नेस)।मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रविसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ।

समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस भनेर बाह्रविसेले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो।

नगरपालिकाको आकस्मिक कोषबाट उनीहरूलाई एम्बुलेन्स भाडा बापतको रकम उपलब्ध गराइने बाह्रविसे नगरपालिकाको कार्यालयले जानकारी दियो।

‘समयमै स्वास्थ्यकेन्द्रमा पुग्न नसक्दा कयौं आमाहरूले ज्यान गुमाएको हामीलाई थाहा छ’, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भन्नुभयो, ‘उनीहरूलाई समयमै स्वास्थ्य संस्थामा पुर्याउन हामीले एम्बुलेन्सको भाडा उपलब्ध गराउन लागेका हौं।’

बाह्रविसे नगरपालिकाको कार्यालयका अनुसार बाह्रविसेदेखि धुलिखेलसम्मका लागि एम्बुलेन्स भाडा बापत ४ हजार उपलब्ध गराइनेछ। बाह्रविसेदेखि काठमाडौं पुर्याउनुपर्ने सुत्केरीहरूलाई ५ हजारका दरले एम्बुलेन्स भाडा प्रदान गरिनेछ।

आर्थिक अभावका कारण सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्न नसक्ने आमाहरूका लागि एम्बुलेन्स भाडाको सुविधाले ठूलो राहत मिल्ने उपमेयर शुशिला पाख्रिनले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्