सभामुखद्वयबीच भेटवार्ता



नेपाल समाचारपत्र, काठमाडौं।सभामुख कृष्णबहादुर महरा र आयरल्यान्डस्थित आइरिस पार्लियामेन्टका सभामुख सेन ओ फेरगेलबीच द्विपक्षीय भेटवार्ता भएको छ।

सभामुख महराको निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका समकक्षी आइरिस सभामुख सेनसँग सोमबार सभामुखको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे चर्चा गर्नुका साथै संसदीय प्रक्रिया र अभ्यास, संसदीयमैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापारलगायतका विषयमा छलफल भएको थियो।

सो अवसरमा सभामुख महराले नेपाल र आयरल्यान्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गर्दै उक्त सम्बन्ध थप सुमधुर र घनिष्ठ बनाउन सभामुख नेतृत्वको प्रतिनिधिमण्डलको नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

नेपालको संघीय शासन प्रणाली, संघीय संसद् र संसदीय अभ्यासबारे जानकारी गराउँदै सभामुख महराले नेपालमा नयाँ संविधान निर्माणपछि संसद्ले विभिन्न ऐन कानुन निर्माणमा मुख्य जोड दिएको बताउनुभयो।

‘नेपालको संघीय संसद् सबै वर्ग, लिङ्ग, समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी रहेको छ, सभामुख महराले भन्नुभयो– ‘देशका सबै जनसमुदायको समुचित प्रतिनिधित्वका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अपनाएर जनप्रतिनिधिहरू चयन भएका छन्, त्यस्तो व्यवस्था हामीले संविधानमै सुनिश्चित गरेका छौं।’

भेटवार्ताका क्रममा आइरिस सभामुख सेन फेरेगलले नेपाल आउन पाउँदा निकै खुसी लागेको बताउँदै नेपाल भ्रमणका लागि निम्तो गरेकोमा सभामुख महरालाई धन्यवाद दिनुभयो।

आयरल्यान्ड विश्वकै एक पर्यटकीय गन्तव्यका रुपमा रहेको चर्चा गर्नुहँुदै उहाँले देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटनले निर्वाह गरेको बताउनुभयो।

नेपालका हिमाली क्षेत्रहरूमा रहेका विद्यालय तथा हस्पिटलहरूमा आयरल्यान्ड सरकारले आर्थिक सहयोग गरिरहेको चर्चा गर्दै उहाँले आयरल्यान्डले शिक्षा, पर्यटन, व्यापार, कृषिलगायतका क्षेत्रका सहकार्य गर्नसक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्