चाँदनी जोशीको उजुरी कुर्दै छ नेपाल वायु सेवा



कपिल काफ्ले, काठमाडौं।मानव अधिकारका क्षेत्रमा सशक्त योगदान दिने जीवित नेपाली महिलाको स्मरण गर्दा अग्रपंक्तिमा आउने नाम हो चाँदनी जोशी।

स्वास्थ्यले साथ नदिँदा पनि अक्सिजनको बाकस बोकेर लैङ्गिक समानताका लागि हुने नीति–निर्माण र पैरवी कार्यक्रमहरूमा सहभागी हुन पुग्ने हस्तीको नाम हो चाँदनी जोशी।

राष्ट्रसंघीय निकायमा रहेर दक्षिण एसियाको नेतृत्वसमेत गरिसकेकी महिलाको नाम हो चाँदनी जोशी।

अहिले, नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय विमानस्थलबाट अपमानजनक ढंगले नयाँदिल्ली जान नदिएर फर्काइएकी ज्येष्ठ नागरिकको नाम हो चाँदनी जोशी।

जोशीलाई नेपाली अधिकारकर्मीले मात्र चिन्दैनन् विदेशीहरूमा पनि उहाँ त्यत्तिकै सुपरिचित हुनुहुन्छ।

म्यास्कुलिन कल्चर अर्थात् हैकमवादी व्यवहारका विरुद्ध आजीवन आवाज उठाएकी जोशीले गत साता भारतको नयाँदिल्लीमा सम्पन्न एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिनु थियो, तर अपमानजनक ढंगले आफ्नै देशको राष्ट्रिय ध्वजावाहक विमानबाट ओरालेर घर फर्काइदियो।’

‘सबैलाई थाहा छ, श्वास–प्रश्वाससम्बन्धी समस्याका कारण म अक्सिजनको बाकस लिएर हिँड्छु, पहिलो दिन अध्यागमनबाट मलाई हालसालै डाक्टरले गरेको सिफारिस ल्याउनुस् अनि जानुहोला भनियो, तीन महिनाअघि बनाएको प्रेस्किप्सन त थियो, त्यसका आधारमा म मंगोलिया, थाइल्यान्ड, नयाँदिल्ली नै धेरैपटक जाने–आउने गरिसकेकी थिएँ’, जोशी भन्नुहुन्छ– ‘तर, यसपटक आफ्नै एयरलाइन्स चढौं भन्ने लाग्यो, नराम्रोसँग लज्जित बनेर फर्किनुपर्यो।’

‘पहिलो दिन डाक्टरको ताजा सिफारिस खोजेसम्म पनि सामान्यरूपमै लिएकी थिएँ, तर दोस्रो दिन एयरलाइन्समा बसिसकेपछि पाइलटले तपाईंलाई उडाउन मान्नुभएन भनियो, आइमाई भएर ठूला कुरा गर्ने, बूढी भएर पाइलटसँग कुरा गर्ने सपना देख्ने जस्ता विभेदकारी भाषाको प्रयोग गरियो, म रुँदै विमानबाट झरें, घरमा आएर पनि दिनभरि आँखा रसाइरहे।’

–जीवनमा हजारौं महिला अधिकारका क्षेत्रमा कार्य गर्ने अभियन्ताहरूलाई बाटो देखाउँदै आएकी जोशीले नेपाल समाचारपत्रलाई बताउनुभयो।

अहिले मानव अधिकार र महिला अधिकारका क्षेत्रमा सक्रिय सञ्जाल, गैसस र अभियन्ताहरूले इमेल र सामाजिक सञ्जाल प्रयोग गर्दै जोशीमाथि भएको व्यवहारको निन्दा गरेका छन्।

युनिफेमकी क्षेत्रीय निर्देशक रहिसकेकी जोशीले यही भदौ १३ र १४ गते यस प्रकारको अपमान सहनुपरेको हो।

जीवनमा ५४ मुलुकको भ्रमण गरिसकेकी जोशीमाथि भएको यस अपमानलाई मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरूले आफैंमाथिको दुव्र्यवहार ठान्दै इमेल र सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

डा. मिता शर्मा प्रधान लेख्नुहुन्छ– ‘वायु सेवाको निर्देशिकाले संविधानले प्रदान गरेको नागरिकका अधिकार कटौती गर्न सक्तैन, सम्मानजनक जीवन जिउन पाउने अधिकार र हिँडडुलको हक छिन्ने काम असंवैधानिक छ।’

एनएनबीएनलगायतका पचासौंं नागरिक संस्थाका सञ्जालहरूले जोशीमाथि भएको दुव्र्यवहारका विपक्षमा भ्रत्र्सनापत्र जारी गर्दै छन्। जोशी आफ्नी छोरीका साथ दक्षिण एसियाली महिला सञ्जाल (स्वान) को दिल्लीमा हुने सम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागी हुन जाँदै हुनुहुन्थ्यो।

जोशीले यसअघि ‘पोर्टेबल अक्सिजन बक्स’का साथ थाइल्यान्ड, मंगोलिया, दक्षिण कोरियालगायतको भ्रमण गरिसकेको विवरण पनि दिनुभयो।

जोशीलाई पहिलो दिन अध्यागमनको प्रक्रिया पूरा गर्ने क्रममा ‘उडान भर्न योग्य’ प्रमाणपत्रको मिति सकिएको भनेर रोकिएको थियो भने भोलिपल्ट विमान चालकले नमानेका कारण फिर्ता पठाइएको थियो।

‘विमानको पाइलट विजय लामाले यस अवस्थामा तपाईंलाई उडाउन सक्तिनँ भन्नुभएको छ’ भनेर फिर्ता गरियो। जोशीले सार्वजनिक व्यक्तित्व रहेका लामासँग सम्पर्क गर्न खोज्दा अपशब्द प्रयोग गर्दै रोकिएको थियो।

‘कुनै नियमले नमिल्ने नै भए सम्झाउने तरिका हुन्छ, शिष्टसँग बोल्नसकिन्छ, हामी के असभ्य जंगली युगतिर फर्किन लागेको हो ?’

जोशीले चिन्ता प्रकट गर्नुभयो। पाइलट लामाले यस सम्बन्धमा आफू अनभिज्ञ रहेको बताउनुभएको छ भने, सोमबार नेपाल समाचारपत्रसँग कुराकानी गर्दै एनएसीका प्रवक्ता गणेशबहादुर चन्दले ‘लामा नभएर प्रशान्त राई त्यस दिनको क्याप्टेन रहेको’ जानकारी दिनुभएको छ।

पहिलो दिन रोकिएपछि जोशी भोलिपल्ट बिहानको आरए २०५ को फ्लाइटमा उड्न पुग्नुभएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयान संगठन (आईकाओ)को नियमअनुसार नै अक्सिजनको कुरा उठेको हो भने अन्य एयरलाइन्समा किन यो प्रश्न उठेन भन्ने जिज्ञासा अधिकारकर्मीको छ।

२०३८ सालमै गृहमन्त्रालयमा सहसचिव र २०४७ मा युनिफेमको क्षेत्रीय निर्देशक भइसकेकी जोशीलाई समेत हिंडडुलको अधिकारबाट रोक्ने धृष्टता गर्ने एनएसीले अरू सर्वसाधारण नागरिकलाई के गर्ला, सामाजिक सञ्जालमा आश्चर्य प्रकट गरिएको छ।

कम्तीमा आगामी दिनमा यात्रुले यस प्रकारको अपमान सहनु नपरोस् भनेर एनएसीले के गर्दैछ भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा सह–प्रवक्ता सुलेश मिश्रले उल्टै प्रश्न गर्नुभयो, ‘हामीकहाँ कुनै उजुरी नै आएको छैन, सामाजिक सञ्जालका स्टाटस हेरेर कसलाई कारबाही गर्ने ?’

मिश्रका अनुसार कार्यकारी अध्यक्ष मदन खरेल कर्मचारी र पाइलटका कारण यात्रुले अनावश्यक दुख पाउनुहुन्न भन्नेमा दृढ हुनुहुन्छ। मिश्रको अनुरोध थियो, ‘लौ न, जोशीजीलाई लिखित कम्प्लेन गर्न भनिदिनुस् !

 

प्रतिक्रिया दिनुहोस्