चक्रपथ: बाहिर नैना सुत् भित्र भुइँमा सुत्



सुरेश तामाङ, काठमाडौं।काठमाडौं उपत्यकाको चक्रपथभित्रको सडक चिटिक्क छ। सफा सुग्घर नै देखिन्छ। यसका लागि प्रत्येक बिहान बु्रमर र पानीको फोहराको सहायता लिइएको छ।

यस्तै नियमित जोडबलले सडक सफा देखिएको छ पनि।तर, चक्रपथ छोडेर ५० मिटर दूरी पार गर्न नपाउँदै यही सडकको अवस्था ‘भगवान् भरोसा’ देखिन्छ। अवस्था यस्तो छ कि पाइलैपिच्छे खाडलैखाडल देखिन्छ।

सडकको त्यस्तो अवस्थाले त्यो सडक नभई पोखरी पो हो कि भन्ने भान हुन्छ। यस्तो अवस्थाबाट यात्रु आजित भएका छन्।

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडक नागढुंगासहित बौद्ध–जोरपाटी–साँखु, बूढानीलकण्ठ–शिवपुरी, टोखा, नागढुंगा, चोभार–दक्षिणकाली–सिस्नेरी, चापागाउँ दोबाटो–ठेचो–सुनाकोठी हुँदै लेले, सातदोबाटो–गोदावरीलगायतका सडकको अवस्था यस्तै छ।

सडक विभाग, डिभिजन जस्ता आधिकारिक कार्यालयका जिम्मेवार व्यक्तिहरू वर्षात्का कारण सडक मर्मत हुन नसकेको जवाफ दिन्छन्।

यीबाहेक सडक मर्मत गर्न नगरपालिका र काठमाडौं उपत्यका सडक विस्तार आयोजनालगायतका निकायहरू छन्। सडकको दुरावस्था भने ज्यूँको त्यूँ देखिन्छ।
विडम्बना ⁄ यी निकायलाई काम गराउन नागरिकले आन्दोलन नै गर्नुपरिरहेको छ।

बौद्ध–जोरपाटी सडकमा यस्तै भइरहेको छ। तर पटक–पटक आन्दोलन गरे पनि सडक विस्तारमा आलटाल भइरहेको छ।

चापागाउँ–ठेचोको बाटोमा स्थानीयले हप्ता दिनसम्म आन्दोलन गरे पनि अवस्थाको उन्नाइसको बीस भएन।

सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले सडकको दुरावस्थाबारे आफूहरू गम्भीर भएको दाबी गर्दै खाडल पुर्न र मर्मत गर्न निर्देशन आइसकेको बताउनुभयो।

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुुसार आउँदो असोज १० गतेभित्र खाडल पुर्ने दाबी गर्नुभयो।

सडकको अवस्थाबारे अनुगमन र सुपरिवेक्षण गर्ने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले पनि अनुगमन गरी यस्ता सडकको सुधार गर्न निर्देशन दिएको बताइएको छ।

उक्त कार्यालयका प्रमुख राजेन्द्रराज शर्माले कार्यालयको अनुगमनअनुसार चक्रपथ बाहिरका सडकको अवस्था सुधार गर्न लगाइएको बताउनुभयो।

‘हाम्रै अनुगमनको आधारमा हामीले सडक सुधारको काम गर्न लगाइरहेका छौँ। यो चाँडै समाधान हुन्छ’, –उहाँले भन्नुभयो।

कलंकी–नागढुंगालाई पहिलो प्राथमिकतामा राखेर काम गराइएको बताउँदै उहाँले सडकमा सुधार ल्याउन विभिन्न सात टोली गठन बनाएर परिचालन गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्