डेंगुको त्रास उपाकुको आस



कृष्णगोपाल श्रेष्ठ, काठमाडौंआज इन्द्रजात्राको प्रारम्भ। आजै उपाकु यात्रा पनि हुने गर्छ। नेवार समुदायको पहिचान बोकेका अनेक पर्वमध्ये इन्द्रजात्रा र उपाकु पनि हुन्। नेपाल र नेपालीको पहिचान दिने यस्ता पर्व पूर्ण आस्था र सम्मानका साथ मनाउँछौं।

साथमा परिस्थितिलाई पनि बुझ्नु आवश्यक भएको छ। डेंगुको त्रासले राजधानीबासीलाई पनि सताएको छ। यसले मन्त्री, लोकप्रियताको उचाइमा पुगेका व्यक्तित्व र आम नागरिक कसैलाई पनि छोडेको छैन। हामीले डेंगुसँग बचेर उपाकु यात्रा पूरा गर्दै पैतृक पूजा सम्पन्न गर्नुछ।

डेंगुको त्रासले राजधानीबासीलाई पनि सताएको छ। यसले मन्त्री, लोकप्रियताको उचाइमा पुगेका व्यक्तित्व र आम नागरिक कसैलाई पनि छोडेको छैन। हामीले डेंगुसँग बचेर उपाकु यात्रा पूरा गर्दै
पैतृक पूजा सम्पन्न गर्नुछ।

उपाकु यात्रा पितृको तारणका लागि गरिन्छ। यो हाम्रो आस्था हो। यसले पितृप्रतिको श्रद्धा अभिव्यक्त गर्छ, यसमै सभ्यता पनि लुकेको छ। आफ्ना दिवंगत माता–पिता–प्रपिता आदिमा जसले सम्मान देखाउँदैन, उसलाई हामी सभ्य भन्दैनौं।

त्यसैले, काठमाडौं निर्वाचन क्षेत्र–९ का तर्फबाट प्रतिनिधिसभा सदस्य भएका नाताले यस क्षेत्रका नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यका विषयमा चिन्तित रहनु मेरो धर्म पनि हो।

यही पर्वलाई ख्याल गरेर मैले गत साता संसद्मा पनि कुरा उठाएँ। मैले धरहरा निर्माणको क्रममा बन्द गरिएको ‘उपाकु मार्ग’ खोल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको हुँ।

हामी सबैलाई थाहा छ, नेपालको पहिचान हाम्रो जात्रा, पर्व, उत्सव र जनजीवनका कारण विश्वमा चर्चाको विषय हुने गरेको छ।

विश्वले इन्द्रजात्रा पर्व हेरोस् भन्ने उद्देश्यले महानगरपालिकाले विदेशी पाहुनालाई समेत निम्त्याएर विशेष किसिमले पर्व मनाउँदै छ। आजदेखि आठ दिनसम्म चल्ने इन्द्रजात्रामा भाद्र २७ का दिन राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागितासहित विशेष समारोहको आयोजना हुँदै छ।

पाहुनालाई उपाकु मार्गका बारेमा पनि जानकारी दिनु राम्रो हुनेछ। तर, घरहरा निर्माणका कारण बन्द भएको उपाकु मार्ग महानगरपालिकाको पहलमा खोलिएको छ।

सरकारले स्थानीय नागरिकको आवाज सुनेर बुद्धिमानी देखाएको छ, अन्यथा संस्कृतिप्रेमीहरू चुप लागेर बस्ने थिएनन्।
नेवारी समुदायमा उपाकुको अवसरमा भाद्र शुक्ल द्वादशीमा हातमा दियो र धूप आदि लिएर उपाकु यात्रा गर्ने चलन छ।

यसरी यात्रा गरेमा दिवंगत आत्माले सुखावती भुवनमा बास पाउने नेवार समुदायको विश्वास छ । उपाकु परिक्रमाको मार्ग क्षेत्रपाटी, ठँहिटी, ज्याँठा, कमलाक्षी, भोटाहिटी, महाबौद्ध, न्युरोड, टेबहाल, सुनधारा, बागदरबार, भोटेबहाल, लगन, जैसीदेवल, भीमसेनस्थान कामना प्लाजा, नरदेवी हुँदै अघि बढ्छ।

अहिले टेबहाल–सुनधारा, धरहरा–बागदरबार रुट बन्द भएका कारण उपाकु मार्ग प्रभावित हुने अवस्था थियो। पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा पर्ने यो मार्ग उपाकुका लागि मात्र खोल्ने नभई सदाका लागि खोलिनुपर्छ।

किनभने, यो मार्ग बन्द भएका कारण स्थानीय जनताले सास्ती खेपिरहेका छन्। उपाकु यात्रामा बत्ती, धुप बाल्दै चप्पल लगाएर हिँड्ने भएकाले बाटो अनुकूल हुनु आवश्यक छ।

तर, अहिलेको डेंगुको त्रासका कारण खुला खुट्टाको सट्टा चोखो कपडाका जुत्ता जसले कुर्कुच्चाको भाग राम्रैसँग छोपोस्, लगाउने कि भन्ने मेरो अनुरोध छ।

साथमा पाखुरा, पिंडुलाआदि छोपिने पहिरन लगाएर यात्रामा निस्कनु ठीक हुनेछ। डेंगुको लामखुट्टे बढी मात्रामा उभिएको व्यक्तिको घुँडाभन्दा मुनिको भागमा मात्र पहुँच राख्छ भन्ने जानकारी विज्ञहरूबाट आएकाले कम्तीमा यस भागमा नरिवलको तेल लगाएर यात्रा गर्नु ठीक हुनेछ।

यस्तै अन्य उपचारात्मक लोसनआदि लगाएर बाहिर निस्कनु स्वास्थ्यका लागि हितकर हुनेछ।इन्द्रजात्राका बेला लाखौं मानिस काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा आजै ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको सुरुआत गरिंदै छ। भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हनुमानढोकामा ठड्याएपछि इन्द्रजात्रा शुरु गर्ने चलन गरेको छ।

इन्द्र जात्रा शुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि शुरु हुनेछ। इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ। सोही दिन राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ।

यी आदि अवसरमा हामी बाहिर निस्कन्छौं, जात्रामात्रा मनाउँछौं, तर विगत वर्षहरूमा जस्तो निस्फिक्री भएर घुम्ने काम चाहिं यसपटक नगरौं।

डेंगुका कारण मुलुकका ५६ जिल्ला प्रभावित भएको, जसमा ६ को मृत्यु र त्यसमध्ये राजधानीका दुईको ज्यान गइसकेको अवस्थालाई गम्भीर रुपले लिनैपर्छ।

‘शरीर माध्यम खलु धर्म साधनम्’ भनिन्छ, धर्म र कर्मका लागि पनि शरीर स्वस्थ हुनु आवश्यक छ। काठमाडौं महानगरपालिकाका १२, १७, १८, १९, २०, २१, २२, २३, २५ र ३० बढी प्रभावित छन्। इन्द्रजात्राका बेला लाखौं मानिस डेंगु प्रभावित क्षेत्रमै हिँड्छन्, लाखे पुलुकिसीको आकर्षणले तानिरहेको हुन्छ।

यस्तो क्षेत्रमा बढी सतर्कताको खाँचो पर्दछ। स्मरणीय के छ भने, माथि उल्लिखित क्षेत्रमा डेंगुका बिरामी भेटिइसकेका छन्।

यस क्षेत्रमा हिंडडुल गर्दा त ख्याल गरौं नै साथै सो क्षेत्रमा स्थायी बसोबास गर्ने व्यक्तिलाई पनि सतर्कताका लागि अभिप्रेरित गरौं। इन्दजात्राका लागि सबैमा हार्दिक शुभकामना ⁄ सबैको जीवन स्वस्थ रहोस् ।

(सांसद श्रेष्ठसँग नेपाल समाचारपत्र प्रतिनिधिले गरेको कुराकानीमा आधारित)

डा. रुइतलाई पनि डेंगु

वरिष्ठ आँखारोग विशेषज्ञ सन्दुक रुइत पनि डेंगीको संक्रमणबाट पीडित हुनुभएको छ। तीन दिनदेखि उक्त रोगबाट थलिनुभएका उहाँलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

तिलगंगा आँखा केन्द्रका निर्देशक डा. रुइतले कम लागतमा मोतिबिन्दुको चिकित्सापद्धति ‘रुइतेक्टोमी’को शुरुआत गर्नुभएको हो। उहाँ सन् २००६ मा रमन म्याग्सेसे पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्