ठूला व्यक्तिको पहुँचले न्याय पाउन मुस्किलः अध्यक्ष थापा



न्युज अफ नेपाल, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले ठूला व्यक्तिका पहुँचका कारण हाल देशमा न्याय पाउन मुस्किल भएको आरोप लगाउनुभएको छ ।

सोमबार हेटौंडामा भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले प्रशासन, राजनीति, व्यापार र न्यायिक क्षेत्रमा समेत ठूला व्यापारीको सेटिङ हुने गरेको आरोप लगाउनुभएको हो ।

उनीहरुकै कारण पीडितले न्याय पाउनै मुस्किल रहेको भन्दै उहाँले वास्तविक अपराधीलाई सरकारले कारबाही गर्नुको साटो लुकाउने तथा ढकछोप गर्ने काम गरिरहको आरोप लगाउँदै स्थानीय तहदेखि माथिल्लो तहसम्म नै सरकारले भ्रष्टचारको जालो बुनेको बताउनुभयो ।
अध्यक्ष थापाले कम्युनिष्ट सरकारले भ्रष्टाचार बढाएको भन्दै वर्तमान सरकार र कांग्रेस दुवै असफल रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो–जनताले नेकपालाई दुई तिहाइ बहुमतले जिताए, तर सरकारले भ्रष्टाचार र बेरोजगारी समस्यालाई शव्दमा बयान गर्न नसकिने गरी बढाइदियो ।

थापाले सरकारप्रति आक्रोश पोख्दै इतिहासमै सनातन धर्म र राष्ट्रिय अखण्डतामाथि आक्रमण भएको बताउनुभयो । सँस्कृति कमजोर बनाउने प्रयास गरिएको र राजनीतिक दल तथा नेताहरुको प्रवृत्तिले देश दुर्घटनातर्फ धकेलिएको उहाँको भनाइ छ ।
धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विकल्प खोज्ने बेला आइसकेको भन्दै उहाँले मुलुकको धार्मिक स्वतन्त्रता र साँस्कृतिक पहिचानमाथि आँच आउने कुनै कुरा मान्य नहुने बताउनुभयो ।

राप्रपाले विगतको चुनाबमा भोगेको पराजयबाट शिक्षा प्राप्त गर्दै आउँदो निर्वाचनमा नसोचेको सफलता प्राप्त गर्ने उहाँको दाबी छ । पुसभित्र पार्टीले महिला तथा धार्मिक संगठन विस्तार गर्दै तीन लाख सक्रिय सदस्य बनाउने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।
पार्टी तथा संगठनलाई बलियो बनाउन यस वर्षलाई निर्माण वर्ष घोषणा गरिएको उहाँले बताउनुभयो । आगामी चुनाबमा अग्रणी शक्तिका रुपमा अघि बढ्ने लक्ष्य लिइएको थापाले बताउनुभयो ।

पार्टीले २०७७ जेठमा महाधिवेशन गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । महाधिवेशनलाई ९ महिनाअघि राख्नुको कारण पार्टीलाई शक्तिशाली बनाउने रहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सहमहामन्त्री तथा प्रशिक्षक भक्तिप्रसाद सिटौला, दीपकबहादुर सिंह, प्रदेशसभा सदस्य रिता माझी, पूर्वजिल्ला अध्यक्ष गणेश थापा, सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नेता सीताराम बर्तौलालगायत नेताहरुको उपस्थिति थियो । कार्यक्रम जिल्ला अध्यक्ष मधु अधिकारीको सभाध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्