नगरपालिकाले सुत्केरीलाई एम्बुलेन्स भाडा प्रदान गर्ने



न्युज अफ नेपाल, सिन्धुपाल्चोक । मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रविसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ । समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोहीपनि सुतकेरी महिलाले ज्यान गुमाउन नपरोस भनेर बाह्रविसेले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो ।

नगरपालिकाको आकस्मिक कोषबाट उनीहरुलाई एम्बुलेन्स भाडा बापतको रकम उपलव्ध गराइने बाहरुविसे नगरपालिकाको कार्यालयले जानकारी दियो ।

‘समयमै स्वास्थ्यकेन्द्रमा पुग्न नसक्दा कयौं आमाहरुले ज्यान गुमाएको हामीलाई थाहा छ’, बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भन्नुभयो ‘उनीहरुलाई समयमै स्वास्थ्यसंस्थामा पुर्याउन हामीले एम्बुलेन्सको भाडा उपलब्ध गराउन लागेका हौं ।’

बाह्रविसे नगरपालिकाको कार्यालयका अनुसार बाह्रविसेदेखि धुलिखेलसम्मका लागि एम्बुलेन्स भाडा बापत ४ हजार उपलब्ध गराईने छ । बाह्रविसेदेखि काठमाडौं पु¥याउनुपर्ने सुत्केरीहरुलाई ५ हजारका दरले एम्बुलेन्स भाडा प्रदान गरिनेछ ।

आर्थिक अभावका कारण सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्न नसक्ने आमाहरुका लागि एम्बुलेन्स भाडाको सुविधाले ठूलो राहत मिल्ने उपमेयर शुशिला पख्रिनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्