ललितपुर चेम्बर अफ कमर्शको नीति सार्वजनिक

हस्तकला र पर्यटकीय पूर्वाधारमा ध्यानाकर्षण गराइने



न्यूज अफ नेपाल, ललितपुर ।

ललितपुर जिल्लाको समग्र आर्थिक विकास र उद्यमीहरुको हकहित गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर चेम्बर अफ कमर्शले आफ्नो नीति सार्वजनिक गरेको छ ।

एक महिना अघि जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको सो संस्था नेपाल चेम्बर अफ कर्मशको ७२ औं शाखा रहेको छ । सोमबार ललितपुरको मानभवनमा पत्रकार भेटघाट गरी कमर्शले आफ्नो नीति सार्वजनिक गरेको हो । उद्यमी, व्यवसायीहरुमा एकता, समन्वय र मैत्रीपूर्ण सद्भाव विकास गरी तिनका समस्यालाई जोडडार रुपले उठाउन कमर्श गठन गरिएको अध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो ।

त्यसैगरी जिल्लाको आर्थिक विकास र उद्यमीहरुलाई संगठित गराउन नगरपालिका र गाउ“पालिकास्तरीय चेम्बर अर्फ कमर्श स्थापना गर्ने पनि कमर्शका नीति रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, प्रदर्शनीको आयोजना गर्ने र सहभागी हुने उल्लेख गर्दै सरोकारवाला सबैसंग सहकार्य गर्ने पनि बताइएको छ ।

कमर्शले अहिले व्यवसायीहरुले भोग्नुपरिरहेको समस्या समाधानको लागि गरिने पहलकदमीलाई तत्कालीन कार्यक्रमको रुपमा अघि सारेको छ । करको दायरा नबढाई दर बढाएकोमा संघ र स्थानीय तहको ध्यानाकर्षण गराउने कार्य पनि अध्यक्ष शाक्यले बताउनुभयो । ‘कर लिने कार्यलाई जटिल र अव्यावहारिक रहेको छ ।’ उहाँले भन्नुभयो ।

कला नगरीको घोषणा अनुरुप कार्य अपेक्षाकृत रुपले अघि नबढेको जनाउ“दै यस विषयमा ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराइने कमर्शले जनाएको छ । वल्ड क्राफ्ट काउन्सिलले गत वर्ष कार्तिक २८ गते ललितपुर नगरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरेको थियो । घोषणाको श्रेय लिन सबैले हतार गरेपनि कला र संस्कृति सम्बन्धी १२ बुँदे घोषणापत्र कार्यान्वयनमा उदासिनता देखाएको भन्दै कमर्शले सो विषयमा ध्यानाकर्षण गराउन लागिएको हो ।

त्यसैगरी महालक्ष्मी नगरपालिकास्थित लुभूलाई टेक्सटायल नगरी बनाउनुपर्ने, पर्यटन वर्षलाई लक्षित गरी आवश्यक व्यवस्थापकीय र पूर्वाधार तयार गर्नुपर्ने पनि कमर्शको माग रहेको छ ।‘ पर्यटन वर्षको रटान गरेर मात्र पर्यटक ओइरिने होइन । यसका आवश्यक तयारी अघि बढाउनुपर्दछ ’अध्यक्ष शाक्यले भन्नुभयो‘महानगरपालिका र महालक्ष्मी नगरपालिकाको आर्थिक विकासमा हस्तकला र टेक्सटायलको विषय निकै महत्वपूर्ण विषय हो ।यसमा दुवै नगरपालिका गम्भीर बन्नुपर्दछ । ’

सुनचाँदी, निर्माण सामग्री, हस्तकला, कपडा लगायत वस्तुगत संघ नै संगठनात्मक मेरुदण्ड रहेको उल्लेख गर्दै कमर्शले त्यसको सबलीकरण, संगठनात्मक पद्धति बसाल्ने कार्यमा ध्यान केन्द्रीत हुने जनाएको छ । त्यसको लागि निरन्तर तालिम सञ्चालन गर्ने कमर्शले जानकारी दिएको छ ।

कमर्शले जिल्लाका ६ वटै स्थानीय तह, उद्यमी व्यवसायीको सहभागितामा चाँडै नै संस्थाको मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गन पनि कमर्शका महासचिव सुविन बज्राचार्यले जानकारी दिनुभयो । कमर्शले महिला चेम्बर पनि गठन गर्ने जनाएको छ ।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघ हुँदाहुँदै समान प्रकृतिको संस्था किन चाहिएको भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष शाक्यले भन्नुभयो ‘जनसंख्या वृद्धि, स्थानीय तहको संरचना, उद्यमी, व्यवसायीहरुको संख्यात्मक वृद्धि र व्यावसायिक वातावरणमा आएको नयाँ चुनौती सामना गर्न कमर्श स्थापना गरिएको हो ।’

क्राफ्ट सिटीको घोषणा भएर सबै खुशी छन्, घोषणा अनुरुप काम अघि बढाउन सरोकारवाला उदासिन भएको अवस्थामा के गर्नुहुन्छ त भन्ने प्रश्नको जवाफ दिँदै शाक्यले घोषणा अनुरुप काम अघि नबढाउने हो भने विश्वको कला नगरीको सूचीबाट ललितपुर हटाउने खतरा रहन्छ । त्यसैले सबै मिलेर घोषणा अनुरुप काम अघि बढाउन ध्यानाकर्षण गराउनुपर्दछ । ’

प्रतिक्रिया दिनुहोस्