काठमाण्डौका सडकमा बिजुली बस: भाडामा २० प्रतिशत छुट, यस्ता छन् सुविधा



काठमाडौं । राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले निम्त्याएको समस्यालाई न्युनीकरण गर्न मंगलबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ । सोमबार विद्युतीय बस सेवाको उदघाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं घुमे ।

सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्नेछन् ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको छ । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।

यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो । तर, सञ्चालन सुरुआत नहुँदै मापदण्डअनुासरको बस नआएको भन्दै फिर्ता पठाइएको थियो ।

सुन्दर यातायातले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले बताए । कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्चिएको छ ।

यस्ता छन् सुविधा

सडकमा गुड्दा यी बसहरु प्रस्टै छुट्याउन सकिन्छ । लामा आकारका ४० सिटे र ३५ सिटे बसको मुख्य आकर्षण भनेको भित्री बनावट हो । मुख्यतया सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुको सुरक्षा प्रमुख चुनौती र महत्वपूर्ण हुने गर्दछ । यही अवस्थालाई ध्यानमा राख्दै सुन्दर यातायातले बसमा प्रशस्त सीसी क्यामेराको जडान गरेको छ ।

यसका साथै बसको सिटसँगै रहेका डस्टबिन, आगो निभाउने यन्त्र र आपतकालीन अवस्थामा सीसा फोरेर बाहिर निस्कनका लागि ह्याम्बरलगायतका उपकरण पनि छन् ।

सुन्दर यातायातको विद्युतीय सार्वजनिक यातायातमा यात्रा गर्दा एयरकण्डिसनर सुविधाका साथै ध्वनी प्रदूषण र धुवाँ प्रदूषणबाट मुक्ति पाइन्छ । विद्युतीय बसको भाडा १५ देखि २० प्रतिशत सस्तो गराउने पहल गरिरहेको सुन्दर यातायातले जनाएको छ । कम्पनीले २१५ रुपैयाँको कार्ड खरिद गर्दा यात्रीले २६५ रुपैयाँ बराबरको यात्रा गर्न सकिने पनि बताएको छ ।

‘चक्रपथमा गुड्ने डिजेलबाट चल्ने गाडीले दैनिक चार हजार रुपैयाँ बराबरको इन्धन खपत गर्दा विद्युतीय सवारी साधनले सात सय रुपैयाँ बराबरको बिजुली खपत गर्छ’, अध्यक्ष थापाले भन्नुभयो । यसबाट यातायात सेवा सरल र सहज बन्नुका साथै ६ वर्षभित्रमा नाफामा जान सक्ने अवस्था रहेको कम्पनीले जनाएको छ । बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार भाडा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् । यात्रुहरुले मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्