सामुदायिकको अबको लक्ष्य एक्सेस गोल्ड ब्राण्ड



न्युजअफ नेपाल, काभ्रे ।जिल्लाको पनौती नगरपालिका ४ टौखालमा केन्द्रिय कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक्सेस गोल्ड ब्राण्ड प्राप्त गर्ने लक्ष्यका साथ अगाडी बढेको जनाएको छ ।

गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यको प्रगति समिक्षा तथा आगामी यो आर्थिक वर्षको लागि योजना तर्जुमा गोष्ठीमा सामुदायीकले अबको लक्ष्य एक्सेस गोल्ड ब्राण्ड प्राप्त गर्ने रहेको जनाएको हो ।

गत तीनवर्ष देखि लगातार एक्सेस सिल्भर ब्राण्ड कायम राख्न सकेको यो संस्थाको यो वर्ष पनि एक्सेस सिल्भर ब्राण्ड नविकरण गर्न सफल भएको छ । नेपालमा ८ वटा सहकारीले मात्र यो वर्ष सिल्भर ब्राण्ड प्राप्त गर्न सकेका थिए ।गोष्ठिमा एक्सेस सिल्भर ब्राण्ड नविकरण गर्न सफल भएकोमा ब्राण्ड नविकरण सेलिब्रेसन समेत गरिएको थियो।


संस्थाका अध्यक्ष प्रकाश बन्जाराको अध्यक्षतामा सम्पन्न गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यको प्रगति समिक्षा तथा आगामी यो आर्थिक वर्षको लागि योजना तर्जुमा गोष्ठीमा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संध नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले पनि संस्थाको आगामी लक्ष्य एक्सेस गोल्ड ब्राण्ड प्राप्ती हुनुपुर्ने बताउनु भएको थियो ।

एक्सेस सिल्भर ब्राण्ड नविकरण गर्न सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि सापकोटाले भन्नुभयो– थोरैमात्र र्इिण्डकेटर कम भएकाले गोल्ड ब्राण्ड प्राप्त हुन नसकेको हो ।सदस्य सन्तुष्टिलाई प्राथमिकतामा राखी सामुदायिकको अवको लक्ष्य एक्सेस गोल्ड ब्राण्ड हुनुपर्ने उहाको भनाई थियो ।

कार्यक्रममा संस्थाको कार्यकारी अधिकृत मदन बस्नेतले गत आर्थिक वर्ष २०७५/०७६ मा भएको प्रगति विवरण पेश गर्दै शेयरपुँजीमा ९९ दशमलव ९८ प्रतिशत, जगेडा कोषमा १०२ दशमलव ०३ प्रतिशत, नाफामा १०७ दशमलव ८७ प्रतिशत, बचत निक्षेपमा ९९ दशमलव ७५ प्रतिशत र सदस्यतामा ९७ प्रतिशत ४१ प्रतिशत गरी कुल ९९ दशमलव २० प्रतिशत लक्ष्य प्राप्त भएको तुलनात्मक जानकारी प्रस्तुत गर्नु भएको थियो ।

विभिन्न उपसमितिका सदस्यहरु समेतको गोष्ठीमा संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले यो आर्थिक वर्ष २०७६/०७७ को सदस्यता लक्ष्य ३० हजार ५ सय, जगेडा कोषको लक्ष्य ८ दशमलव ८७ प्रतिशत, संस्थागत पुँजीको लक्ष्य ९ दशमलव १७ प्रतिशत, शेयरपुँजी २४ करोड, बचत निक्षेप १ अर्ब ६८ करोड र नाफा १० करोड ३ लाख ४५ हजार कमाउने लक्ष्य रहेको विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा संस्थाको अध्यक्ष बन्जाराले सहभागिहरूबाट उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै प्राप्त महत्वपूर्ण सुझावहरूलाई आत्मासात गरि योजनामा थप गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

अध्यक्ष वञ्जाराले भन्नुभयो– अबको हाम्रो संस्थाको लक्ष्य एक्सेस गोल्ड ब्राण्डको साथै सदस्यहरूको सन्तुष्टि रहेको छ । उहाले सदस्यहरूको हित हुने खालका कार्यक्रमहरू ल्याउने कुरामा विश्वस्त रहन आग्रह पनि गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहाकार शम्भुलाल श्रेष्ठ, परामर्शदाता दीपक थापा, पुर्व सचिव पुर्णकुमार श्रेष्ठ, पनौती सेवाकेन्द्र व्यवस्थापन तथा संचालन उप समिति संयोजक महेश कुमार कर्माचार्य, पुर्वसल्लाहकार विजयराम कर्माचार्य लगायतले मन्तव्य तथा सुझाव राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका सचिव मुकुन्द शर्माले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहभागिहरूलाई संस्थाको तर्फबाट उपाध्यक्ष कुमार प्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्