हजम भएन है मान्याज्यू !



खप्पराँ ल्याएपछि कसैको केही लाग्दोरहेनछ। कसैले नचाहे पनि पदमा पुगिँदोरहेछ न पढ्न पर्ने न त कुरा बुझ्न पर्ने उहिले पहिलो संविधानसभा निर्वाचनलगत्तै धेरैको भाग्य चम्किएको थियो। त्यो भाग्यविधाता थियो तत्कालीन नेकपा माओवादी।

उसकै नाराका कारण ऐरे, जैरे, भैरे, लैरे, तैरे, खैरे जो पनि संविधानसभाँ जान पाएका थिए। धेरैले त आफ्नै पूर्वप्रेमी–प्रेमिका, बाहालवाला प्रेमी–पे्रमिका, नाता–गोता, गाँठिष्ट, अन्नदातालाई त्यो सभा लैजान पाएका थिए।

त्यही मेसोमा चोरका नाइकेदेखि सीडीओ कुट्न सक्ने हिम्मतवालासमेत गए संविधानसभाँ। तर त्यो उहिल्या कुरा हो। उहिल्या कुरा खुइले ⁄ अहिल्या कुरा चैँ गरौँ न। स्कुलिङजस्तो भो त्यस्तै हो चेलाहरू जन्मने।

धरहरालाई यस्ता कुरा सुन्न र लेख्न पर्दा कहिले त एकातिर जङ् चल्छ कहिले अर्कोतिर एक्लै पनि खितितीखितिती हाँस्न मन लाग्छ। विषय एकदमै साजी हो आइतबारकै। आइतबारकै संसद्को बैठककै हो कुरो।

धरहरालाई यति निम्छरो कुरा गर्नुपर्ला भन्ने लागेकै थिएन, हरे कानुन बनाउन संसदाँ गा’काहरूलाई नेपालमा संविधान जारी भा कुरा पत्तै रहेनछ।उठानको विषय त गम्भीर नै थियो नै, एकजना बालिकालाई एसिड छरिएको विषय गम्भीर र दर्दनाक पनि हो।

तर संसद्मा बोल्नेहरूले भएकै विद्यमान कानुनअनुसार एसिड हान्नेलाई कारबाहीको माग गर्नुभन्दा संविधानमै नभएको मृत्युदण्डको सजाय पो मागे। कतै कुरो घुमाएर एसिड छर्नेलाई जोगाउन त खोज्या हैन भन्ने लख पनि काट्यो धरहराले।

धरहराले पनि एसिड हान्नेलाई बचाउने यो कुरा गर्या हैन है फेरि तर आफैं कानुन बनाउन संसदाँ जाने आफैं हुँदै नभएको कारबाहीको सजाय माग्ने भन्ने कुरा त हजम भएन नि माननीयज्यू ? नसुहाउँदो कुरो भो।

कि आफैं संसदाँ भाबेलाँ मृत्युदण्डको कानुन बनाइदिए भैहाल्यो नि त माननीयज्यू !

प्रतिक्रिया दिनुहोस्