टेलिकमको भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल टेलिकमले ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ।

गत वैशाखबाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि पनि दुई छिमेकी मुलुक भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ।

हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा शुक्रबारदेखि भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुनेछ।

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा परिमार्जन गर्ने उद्देश्यले विगतका दिनमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो।

अब नेपाल टेलिकमका ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्नुहुनेछ।

भदौ १९ गतेसम्म अन्तर्र्रािष्ट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ।

उक्त मिति पश्चात अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ। जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकले हाललाई डाटा रोमिङ सेवा मित्रराष्ट्र भारतमा प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्