ट्रम्पद्वारा तालिवानसँगको गोप्य वार्ता रद्द



वासिङ्टन, (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अफगानिस्तानमा अमेरिकाको अठार वर्ष लामो युद्ध अन्त्यका लागि हुने भनिएको तालिवान लडाकुसंगको शान्तिवार्ता रद्द गरेको जानकारी दिएका छन्।

आइतबार ट्रम्पले आफ्नो अफगानी राष्ट्रपति असरफ घानी र वरिष्ठ तालिवान नेताहरूसंग भेटवार्ता गर्ने योजना रहेको टिव्ट गरेका छन्।

तर उनले हालै तालिवान समूहले अफगानिस्तानमा एक अमेरिकी सैनिकको पनि ज्यान जाने गरी भएको आक्रमणमा आफ्नो हात रहेको दाबी गरेपछि ट्रम्पले आफ्नो क्याम्फ डेविड रिट्रिटमा तिनीहरूसंग गर्न लागेको गोप्य भेटवार्ता रद्द गरेको बताएका छन्।तर यता तालिवान समूहले यसरी शान्तिवार्ता रद्द गरेका अमेरिकीहरूले अरूले भन्दा अझ धेरै दुःख पाउने दाबी गरेका छन्।

यो गोप्य वार्ता सन् २००१ को ११ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय आतंककारी समूह अलकायदाका नेता ओसामा विन लादेनको निर्देशनमा अमेरिकाका विभिन्न स्थानमा हजारौं व्यक्तिको ज्यान जाने गरी विमानबाट गरिएका आत्मघाती आक्रमणको वार्षिक दिवसको केही दिनअगाडि आयोजना हुने तय भएको थियो।

सोही वर्ष तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको निर्देशनमा अमेरिकी फौजले अफगानिस्तानमा सैनिक कारबाही गरी त्यहाँको तालिवान सरकारलाई अपदस्थ गरेको थियो।

यसैबीच दोहास्थित तालिवानको राजनीतिक कार्यालयको एक सूत्रले ट्रम्पको यस निर्णयमाथि छलफल गर्न आफ्नो समूहको आपत्कालीन आन्तरिक बैठक बस्न लागेको बीबीसीलाई जानकारी गराएका छन्। ट्रम्पकै भनाइअनुसार डेविड क्याम्पमा असरफको आफूसँग छुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो।

असरफले भने तालिवानले युद्धविरामप्रति सहमति जनाउँदै अफगान सरकारसंग प्रत्यक्ष वार्ता गरेको खण्डमा वास्तविक शान्ति प्राप्त हुने प्रतिक्रिया दिएका छन्।

खाडी मुलुक कतारको राजधानी दोहामा अमेरिका र तालिवानका प्रतिनिधिहरूबीच भएको नवौं चरणको वार्तापछि यो गोप्य वार्ताको चाँजोपाँजो मिलेको थियो।

प्रस्तावित सम्झौताअनुसार तालिवानले अफगानिस्तानलाई आइन्दा कहिल्यै पनि आतंकवाद अखडाका लागि प्रयोग नगर्ने शर्तमा अमेरिकाले अफगानिस्तानमा बिस साताभित्र आफ्नो ५ हजार ४ सय फौज फर्काउने योजना बनेको थियो।

प्रतिक्रिया दिनुहोस्