फिरन्ते बस्तीको हरिबिजोग कुपोषित बालबालिकाको हातमा माग्ने कचौरा



नेपाल समाचारपत्र, हेटौंडा।मनहरी गाउँपालिका–६, लोथरमा रहेको एक अस्थायी बस्ती हो–फिरन्तेको। जो तीन महिनामा बस्ती सार्छन्। उनीहरू करिब तीन महिना हेटौंडाको राप्ती खोलानजिक बिताएर त्यता गएका हुन्। केही परिवार हेटौंडामै छन्।

बस्तीमा सिलौटो बनाइरहेका दुई पुरुष र एक बालक बिरामी अवस्थामा पाइए। ५० वर्षका सञ्जय शर्मा, उनका भाइ र छोरा बिरामी थिए। सञ्जय र उनका भाइलाई सिलौटो खसेर खुट्टामा बजारिएपछिको चोट थियो भने छोरा छिन्तु कुपोषण पीडित। उनी अढाई वर्षका छन्। उनको तौल ४ केजीमात्र, उचाईं ६० सेन्टिमिटर।

उक्त बस्तीमा पुग्नुभएकी गाउँपालिका उपाध्यक्ष मनिला विष्टको निर्देशनपछि बिरामी तीनै जनालाई इलाका प्रहरी कार्यालय मनहरीको भ्यानमा राखेर मनहरी प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको छ। उनीहरूको निःशुल्क उपचार गर्न उपाध्यक्ष विष्टले निर्देशन दिनुभएको छ।

१४ वर्षीय राहुल ७ जनाको परिवार पाल्न रजैयामा दैनिक २ सय रुपियाँ पाउने गरी भाँडा माझ्न बसेका रहेछन्। राहुललाई मनहरी–९ रजैयाको एक होटलबाट गाउँ बालसञ्जालले उद्धार गरेको छ। त्यहाँको अव्यवस्थित बस्तीका बालबालिका बालश्रम गर्ने, माग्नेलगायत कार्यमा संलग्न थिए।

उनीहरूका बालबालिका थोत्रो सिलाबरे कचौरा लिएर लोथर र मनहरी बजारसम्म माग्न पुग्दा रहेछन्। त्यहाँको अव्यवस्थित टहरा, खानपान र असरल्ल अवस्था अनि बालक र सुत्केरीको अवस्थाले जो कोहीलाई स्तब्ध बनाउँथ्यो।

‘उनीहरू कसैको घर रहेनछ, केही चाहीँ बाराको जीतपुर सिमरा नगरपालिकाको १८ नम्बर वडा र कलैया नगरपालिकाभित्र घर भएका रहेछन्’ उक्त बस्तीमा पुग्नुभएकी गाउँपालिका उपाध्यक्ष विष्टले सोध्नुभयो– ‘किन यसरी फिरन्ते बनेर हिँड्नुहुन्छ ?’

उनीहरूले जबाफ फर्काए– ‘खेती सकाएर यता आएका हामी दशहरा (दसैं)मा घर पुग्छौं।बस्ती अनुगमन र वस्तुस्थिति बुझेपछि उपाध्यक्ष विष्टले जीतपुर सिमरा नगरपालिका, सांसद् र गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलगायतलाई घटनाबारे सुनाउनुभयो।

त्यहाँको मात्र होइन, हेटौंडामा रहँदा हेटौंडा–११ स्थित राप्ती पुलनजिक नारायणी यातायात व्यवसायी संघको सवारी पार्किङ क्षेत्रमा बसोबास गर्ने फिरन्तेहरू निकै कष्टपूर्ण जीवन बिताउँछन्। प्रशस्त लालाबालासहितका उनीहरू स्थानीयस्तरमा पाइने सबै प्रकारका काम गरेर पैसा कमाउने गर्छन्।

करिब तीन महिना यहाँ बसेपछि उनीहरूले आफ्नो गन्तव्य फेर्छन्। सामान्य टहरा, पुराना लुगाफाटा र थोत्रा भाँडाकुँडासहित हेटौंडा भित्रिने उनीहरूको करिब २० परिवार खोलाकिनारमा बस्छन्।

तराईमा गर्मी बढेसँगै हेटौंडा आउने फिरन्तेहरू दिनभर आफ्नो काममा व्यस्त भएर राति परालमाथि त्रिपाल बिच्छ्याएर कछाड ओढेर सुत्छन्। वरिपरि फोहोर देखिने क्षेत्रमा झिंगा र लामखुट्टेको टोकाइबाट विशेषतः केटाकेटी प्रभावित देखिन्छन्।

बस्तीमा अधिकांश बालबालिका नांगै र फोहोरी देखिन्छन्। एउटै त्रिपालमुनि पूरै परिवार सुत्छन्। दिनभर सिलौटो बनाउने, आयुर्वेदिक औषधी, औंठी, मुगा र कृत्रिम फूल बेच्छन् उनीहरू। साँझ परेपछि त्रिपालमा खाना पकाउने, खुला दिसापिसाब गर्ने उनीहरूको दिनचर्या हो।

पत्नी, दुई ज्वार्इं/छोरी र तीन नातीनातिनाका साथ उक्त स्थानमा बसोबास गर्दै आउनुभएका जीतपुरका गंगाप्रसाद कविराजको परिवार हेटौंडामा कान सफा गर्ने काम गरेर दैनिकी चलाइरहेको छ।

आफ्नो पुर्खादेखि चलिआएको परम्परा धान्नका लागि उक्त पेसा रोजेको बताउने कविराजले कान सफा गरेर दैनिक २ सय रुपियाँदेखि १ हजारसम्म कमाउँछन्। उनका ज्वाईंले पनि यही पेसा अँङ्गालेका छन्।

कविराजको परिवार वर्षात्को समय वर्षको ४ महिनामात्र आफ्नो घरमा बस्छन्। अरु समय यस्तै गरी विभिन्न सहरमा गएर काम गर्छन्।

प्रतिक्रिया दिनुहोस्