डडेलधुरा काँग्रेस चलायमान



राम धामी, डडेल्धुरा। नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको सम्पन्न बैठकले डडेल्धुरा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा जिल्ला कार्यसमितिका निर्वाचित जेष्ठ सदस्य मानबहादुर बुढा मगरलाई सभापतिको जिम्मेवारी प्रदान गरेको छ भने जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा जिल्ला कार्यसमितिका जेष्ठ पदाधिकारी उपसभापति करुणाकर भट्टलाई सभापतिको जिम्मेवारी दिइएको छ।

दुई महिनासम्म राजधानी काठमाडौंमा सम्पन्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले निर्णय पारित गरी परिपत्र गारएअनुसार स्थानीय तह संगठन पुर्नसंरचनाका क्रममा डडेल्धुरा जिल्लाका दुई ओटै प्रदेश सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिका सभापतिको मनोनयन गरिएको हो।

केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लामा स्थानीय तह संगठन पुर्नसंरचनाका लागि खटाइएका प्रतिनिधि अधिवक्ता रोहित देउवाको उपस्थितिमा दुवै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति मनोनयन गरिएको हो।

पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको कार्यादेशअनुसार दुवै निर्वाचन क्षेत्रका सभापति जिल्ला कार्यसमितिको सर्वसम्मत निर्णयबाट मनोनयन गरिएको केन्द्रीय प्रतिनिधि देउवाले जानकारी दिनुभयो।

पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार डडेल्धुरा जिल्लामा दोस्रो चरणको गाउँ जागरण अभियान प्रभावकारीरूपमा सञ्चालन गर्ने र गाँउ जागरण अभियानको प्रचार प्रसारका लागि जिल्ला कार्यसमिति सदस्य गोकुल शाहीको संयोजकत्वमा जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य गणेशप्रसाद जोशी, तिलक हमाल, सन्तोष देउवा, भरत नेपाली, शेरबहादुर चाँड, नेपाल प्रेस युनियन डडेल्धुराका सभापति धनबहादुर भण्डारी, डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐर, त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडाका स्ववियु सभापति कृष्ण धामी र नेपाली काँग्रेसका जिल्लास्थित भातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुखहरू सदस्य रहने गरी प्रचार प्रसार समिति गठन गरिएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ।

यसैगरि दोस्रो चरणको गाउँ जागरण अभियानको जिल्लास्तरमा अनुगमन गर्न महाधिवेशन प्रतिनिधि तारक बुढाएर र लोकेन्द्र गुरुङ सम्मिलित अनुगमन समितिसमेत पार्टी केन्द्रीय कार्यालयको परिपत्रअनुसार गठन गरिएको नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए।

बैठकले डडेल्धुरा जिल्लामा दोस्रो चरणको गाँउ जागरण अभियान प्रभावकारीरूपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट अमूल्य योगदान पुगाउन सिँगो पार्टी पंक्ति, भातृ तथा शुभेच्छुक संगठनका साथै नेपाली काँग्रेसमा आस्थावान समस्त जिल्लावासीलाई आग्रह गर्ने निर्णयसमेत पारित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्