दुई दिनपछि इन्टरनेट सेवा सुचारु



डोटी, (नेस)। नेपाल टेलिकमद्धारा वितरीत इन्टरनेट सेवा दुई दिनपछि आइतबारबाट सुचारु भएको छ। नेपाल टेलिकम दीपायल राजपुरमा रहेको बीटीएस टावरमा शुक्रबारदेखि खराबी आएपछि डोटीलगायत यहाँका अन्य जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको थियो।

इन्टरनेट सेवा नहुँदा यहाँका सञ्चारकर्मीले आफ्ना सञ्चार माध्यममा दुई दिनदेखि समाचार सम्प्रेषण गर्न पाएका थिएनन भने बैंकिङ कारोबार गर्दै आएका विभिन्न संघ संस्थाले दुई दिनदेखि सेवा दिन सकेका थिएनन्।

शुक्रबारदेखि अबरुद्ध भएको इन्टरनेट सेवा आज आइतबारबाट सुचारु भएपछि अहिले बैंकिङ कारोबार सुचारु भएको एनसीसी बैंक दिपायलका प्रमुखकुमार खड्काले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘इन्टरनेट नहुँदा सेवाग्राहीसहित हामीलाई पनि काम गर्न समस्या भएको थियो, नेट सुचारु भएपछि सेवाग्राहीको चाँप बढेको छ।’

उता नेपाल टेलिकम दीपायलका प्रमुख प्रकाश चौधरीले बीटीएसमा आएको समस्या समाधान भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘नेटको बीटीएस टावरमा खराबी आउँदा केही दिन सेवा अवरुद्ध भएको थियो, नेट बनिसकेको छ।’

प्रतिक्रिया दिनुहोस्