कसराको गिद्ध प्रजनन् केन्द्र दक्षिण एसियामै राम्रो



चिरञ्जीवी मास्के,चितवन।चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको गिद्ध संरक्षण तथा प्रजनन् केन्द्र दक्षिण एसियाकै नमुना बन्दै गएको छ।गिद्ध प्रजनन्को लागि ११ वर्षअघि स्थापना भएको यो केन्द्रमा प्रजनन् कार्य सतप्रतिशत सफल नभएपनि दक्षिण एसियामै नमुना र राम्रो केन्द्र बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन वेदबहादुर खड्काले बताउनुभयो।

केन्द्रमा अहिले १८ जोडी माउ गिद्ध र दुई जोडी बच्चा गरी ४० वटा गिद्ध रहेको सहायक वार्डेन खड्काले बताउनुभयो। गिद्धको प्रजनन् सिजन शुरू भएकोले केही जोडी त्यसको तयारीमा लागेको सहायक वार्डेन खड्काको भनाइ छ।

केन्द्रको स्थापनापछि नेपालमा गिद्ध संरक्षण र प्रजनन्मा उल्लेख्य प्रगति भएको खड्का बताउनुहुन्छ। संरक्षण क्षेत्रमा नेपाली सेनाको सुरक्षा रहेकोले पनि गिद्ध, गोहीलगायतका दुर्लभ वन्य जन्तु तथा पशुपंक्षीको संरक्षण र प्रजनन्मा उल्लेख्य प्रगति हुन सकेको निकुञ्जका सहायक वार्डेन खड्काको भनाइ छ।

गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रमा गिद्धको संरक्षण तथा प्रजनन्का लागि दुई वटा कोठा बनाइएको छ। दुई कोठामा अन्डा पार्न र गुँड बनाउन ३० वटा खटिया राखिएको छ।

हरेक वर्षको असोज र कार्तिक महिनामा गिद्ध प्रजनन्का लागि तयार हुने र उनीहरूको जोडीले खटिया कब्जा गरी गुँड बनाउन शुरूगर्ने केन्द्रमा कार्यरत पशु चिकित्सक डा. विकल्प कार्की बताउनुहुन्छ। गिद्धको स्थाइ जोडी हुने भएकोले खासै समस्या नदेखिने पनि डा कार्कीको भनाइ छ।

गिद्धले ५५ देखि ६० दिन भित्र बच्चा कोरल्ने र १ सय दिनसम्म उक्त बच्चालाई माउसँगै राखिने चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन खड्काले बताउनुभयो।

१ सय दिन पुगेपछि गिद्धको बच्चालाई छुट्टाएर अर्कै ठाउँमा राखिन्छ। ६/७ महिनाको भएपछि बाहिरका गिद्धसँग घुलमिल गराउन र उड्ने, कराउने, खाने तरीका सिकाउन ती गिद्धका बच्चाहरूलाई नवलपरासीको पिठौलीमा रहेको गिद्ध रस्टुरेन्टमा लगिने केन्द्रले जनाएको छ।

पिठौलीमा रहेको गिद्ध रस्टुरेन्टमा जालीभित्र केन्द्रबाट लगिएका गिद्ध राखिन्छ भने जाली बाहिर प्राकृतिकरूपमा गिद्ध आउने गर्छन्। रेस्टुरेन्टको जालीभित्र करिब ८ महिना राखेपछि उनीहरूलाई पनि प्राकृतिकरूपमै खुला छोडिन्छ। गिद्ध रेस्टुरेन्टमा बच्चा गिद्धसँगै प्रजनन्का लागि तयार भै नसकेका गिद्धलाई समेत लगिने गरेको डा. कार्कीको भनाइ छ।

केन्द्रबाट गिद्ध रस्टुरेन्टमा सन् २०१६ मा ९ वटा, सन् २०१७ मा ६ वटा र सन् २०१८ मा २ वटा गिद्धका बच्चा लगिएका छन्।त्यसमध्ये ६ वटा गिद्ध अहिलेपनि रेस्टुरेन्टको जालीभित्रै रहेको सहायक वार्डेन खड्काले बताउनुभयो।

गिद्ध संरक्षण तथा प्रजनन् केन्द्र स्थापना भएको ११ वर्षको अवधिमा झन्डै ३० वटा गिद्ध नवलपरासीको पिठौलीमा रहेको गिद्ध रेस्टुरेन्टमा छोडिसकिएको केन्द्रले जनाएको छ।

गिद्धहरू झन्डै सात वर्षपछि प्रजनन्को लागि तयार हुने र एउटा गिद्धले एक वर्षमा एक वटामात्र अन्डा पार्ने गिद्धको आयु सरदर ३५ देखि ४० वर्षको हुने पशु चिकित्सक डा. कार्कीको भनाइ छ।

प्रजनन् केन्द्रमा हरेक वर्ष गिद्धको स्वास्थ्य परीक्षण गरिन्छ। ती गिद्धलाई हरेकदिन राँगोको मासु खुबाउने गरिएको सहायक वार्डेन खड्काले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्