सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेंगुको संक्रमण



विमल विष्ट, डोटी।सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेंगुको संक्रमण देखिएको छ।सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायल राजपुरले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा सबैभन्दा बढी ५ जना डेंगु रोगका बिरामी छन् भने कैलालीमा ४ जना, अछाममा १ जना, कञ्चनपुरमा १ र डोटीमा १ जनामा उक्त रोग भेटिएको र डोटीमा १ जनाको मृत्यु भैसकेको छ।

डोटीमा डेंगु देखा परेका बिरामीलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला अस्पताल डोटीका डा.गिरिष अवस्थीले बताउनुभयो।उहाँले भन्नुभया– ‘हामीले जिल्लामा चेक गर्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौं, त्यता चेक गर्दा डेंगु रोग भेटिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ।’

यही भदौ ५ गते उक्त रोगका कारण डोटीको दीपायल सिलगढी नगरपालिका–६ थाप्ला बस्ने छत्र मलासी छायाँ को मृत्यु भएको थियो।डोटीलगायत अन्य जिल्लाहरूमा डेंगु रोगका बिरामी फेला पर्न थालेपछि अहिले यहाँका स्थानीयमा त्रास फैलिएको छ।

डेंगु रोग नियन्त्रणका लागि जिल्लाको दीपायल सिलगढी नगरपालिकाले नगर स्तरीय अभियान सञ्चालन गरेको छ।
बिहान र साँझको अस्ताउदो घामको समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यत्ति बेला साबधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्।

पहिलो पटक नेपालको चितवन जिल्लामा भेटिएको उक्त डेंगु अहिले सुदूरपश्चिमका ४ जिल्लामा देखा परेकोले सबैले साबधानी अपनाउनु पर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायल राजपुरले जनाएको छ।

डेंगु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात अक्सिजन भएको पानीमा फुल पार्ने र उक्त फुल करिब करिब ६ महिना सम्म जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाँडाकँुडा सधै सफा गर्नुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ड डा. भूषण मिश्रले बताउनुभयो।

उहाँले भन्नुभयो, “डेंगु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा पानी फुल पार्ने र फुल जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सरसामान सधैं धुनु र सफा गर्नु जरुरी छ।

डोटीको दीपायल सिलगढी नगरपालिका–६ थाप्लामा पहिलो पटक उक्त डेंगुले एक जनाको मृत्यु भएको छ भने सोही ठाउँका अर्का एकजना बिरामी परेका थिए।

उक्त डेंगु नियनत्रणका लागि जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत परिचालन गरिएको छ। रोग नियत्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेंगु रोग फैलाउने लामखुट्टे पारेका फुलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो।

उहाँले भन्नुभयो, “जिल्लामा डेंगुले एक जनाको ज्यान गएपछि हामीले नियन्त्रणका लागि सरकारी टोलीनै गठन गरेका छौं, टोलीले रोगका बारेमा जनचेतना फैलाउने देखि लामखुट्टेले पारेका फुलको पहिचान गरी नष्ट गर्दै छ, आम नागरिकले पनि यो विषयमा जानकारी लिएर सचेत हुन जरुरी छ।”

प्रतिक्रिया दिनुहोस्