यान्त्रिक पुलको यात्रा साँच्चिकै जोखिममा हो त ?



दुर्गाप्रसाद शर्मा,पर्वत।हरेक नेपालीका घरघरमा तीजले पाइला राख्दै थियो। तीजमा दिदी बिहिनी लिन होस. वा बाबाको मुख हेर्न औंशीमा घर र माइती जानेहरू कुस्मा बलेबा यान्त्रिक पुलबाट सहजै यात्रा गर्ने योजना बनाइरहेका थिए।

विगतमा यान्त्रिक पुल प्रयोग गरेर कालीगण्डकीको कहालीलाग्दो खोँच सहजै पार गरेकाहरू यस वर्ष पनि सोहीअनुसार योजना बनाउने नै भए।

यात्रुले योजना बनाउँदै गर्दा सामाजिक सञ्जालमा यान्त्रिक पुलको यात्रा जोखिममा रहेको भन्दै सूचना राखेर अफबाह फैलाउने काम भयो। ‘बलेवा न्युज’ नाम गरेको फेसबुक पेजमा राखिएको सूचनापछि धेरैले यात्रा रद्द गरे वा वैकल्पिक यात्रा गर्ने योजना बनाउनपुगे।

यान्त्रिक पुल सञ्चालन गर्ने कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले यात्रुलाई सार्वजनिक आ≈वान गरेको शैलीमा एडमिनसमेत अहिले सम्म पत्ता नलागेको फेसबुक पेजले चलाएको हल्ला दिनभरमा धेरैका वालहरूमा सेयर भइसकेको थियो।

यसैले गर्दा धेरैले यात्रासमेत रद्द गर्ने अवस्था आयो। बिहान सामाजिक सञ्जालमा अफबाह फैलिएपछि यान्त्रिक पुलले पत्रकार सम्मेलन गरेर भ्रम चिर्ने प्रयास नगरेको होइन तर फेसबुक र युटुबमा राखिने अनाधिकृत सूचनाका आधारमा धारणा बनाउने बानी परिसकेको नेपाली समाजले यान्त्रिक पुलका विरुद्ध फैलाएको अफबाहलाई साँचो मान्न पुगे।

एउटा फेक सूचनाका कारण यान्त्रिक पुलमा तीजमा लाग्ने यात्रुको भीड स्वात्तै घट्न पुग्यो। धेरै लामो लाइन हुने यात्रुहरूको चाप शुन्यप्रायभ यो।

यसपटक गलत सूचना राखिएका कारण तीजको आम्दानीमा ५० प्रतिशत भन्दा कम भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ।अघिल्ला वर्षमा तीन दिनमा ३ देखि ५ लाखसम्म कमाइ हुने गरेको थियो।

के लठ्ठा छिन्छ त ?

फेसबुक पेजमा राखिएको सूचनाअनुसार ‘यान्त्रिक पुलको लठ्ठा चुँडिएको र वेल्डिङ गरेर फेरि चलाइको’ भन्ने थियो। के यान्त्रिक पुलको लठ्ठा साँच्चिकै छिन्छ त ? कालीगण्डकी नदीमाथि डरलाग्दो खोँच पार गर्दा लठ्ठा छिन्ने समस्या हो भने त यात्रु अवश्य नै हिच्किचाउने भए।

जसरी सामाजिक सञ्जालमा अफबाह फैलियो त्यसरी कुनै पनि केबलकारको मुख्य लठ्ठा नछिन्ने दाबी गर्छन यान्त्रिक पुल निर्माणदेखि नै प्राविधिक काम गर्दै आएका इन्जिनिर अच्युत खतिवडा यान्त्रिक पुलको लठ्ठा र इन्जिनको १ सय वर्ष ग्यारेन्टी हुने भएकाले लठ्ठा छिन्ने कुरा कल्पना पनि गर्न नसकिने उहाँको दाबी छ।

विश्वव्यापीरूपमा ठूला केबलकार, रेलवे, लिफ्टमा प्रयोग हुने उषा मार्टिन ब्रान्डको केबल यान्त्रिक पुलमा पनि राखिएको छ। यसको सुरक्षाका बारेमा कुनै चिन्ता नलिन इन्जिनियर अच्युत खतिवडाले आग्रह गर्नुभयो।

यस प्रकारका लठ्ठाहरू सय वर्षसम्म केही समस्या नभई चलेको उहाँको दाबी छ। ‘माटो नै भासिएर गएमा भन्न सकिन्न’ उहाँले भन्नुभयो ‘लठठा वेल्डिङ गरेर चलाउने चीज नै होइन, सुरक्षाका विषयमा ढुक्क हुनुहोस।’

यान्त्रिक पुलका डब्बा घुमाउन प्रयोग हुने मसिना लठ्ठा (हल्लेज केबल) भने दुई दुई वर्षमा परिर्वतन गरिँदै आएको छ। मसिना लठ्ठाको काम डब्बा घुमाउने भएकाले यसमा समस्या आउँदा पनि दुर्घटना हुने सम्भावना नै नहुने इन्जिनियर खतिवडाको भनाइ छ।

उहाँका अनुसार पुलको मोटरमा प्रयोग भएका सामाग्री पनि सय वर्षका ग्यारेन्टी हुने मरिन, रेस्लर ब्रान्ड हुन। पुलको कन्ट्रोल सिस्टमको डिजाइन खतिवडा आफैले गर्नुभएको हो।

हल्ला फैलाउनेलाई कारबाही गर्न माग

यान्त्रिक पुलको भदौ १९ गते भएको साधारणसभामा बोल्ने सेयर सदस्य तथा वक्ताले प्राविधिक विषयमा जानकारी नै नलिई गलत ढंगले सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्न माग गरे।

सबैभन्दा बढी यात्रागर्ने बाग्लुङको बलेबा क्षेत्रका बासिन्दौ हुन। तीजको समयमा यात्रा गर्ने धेरै मानिसलाई हल्लाले धेरै प्रभावित बनेको बलेबाक ऋषिराम सुवेदीले सुरक्षाका बारेमा समयमा नै सबैलाई जानकारी गराउन आग्रह गर्नुभयो।

साधारणसभामा बोल्दै यान्त्रिक पुल सञ्चालक समितिका अध्यक्ष होमनारायण श्रेष्ठले पुलले तीज, दसै जस्ता पर्वमा यात्रुको चाप हुने समयमा अफबाह फैलाउने तत्व सक्रिय हुँदै आएको बताउँदै त्यस्ता तत्वको खोजी गरी कारबाहीको प्रकृयामा ल्याइने प्रतिबद्धता जनाउनुभयो।

साधारणसभामा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी श्याम अर्यालले पनि गलत सूचना राखेर जनतामा भ्रम फैलाउने तत्वको खोजी भइरहेको जानकारी दिनुभएको थियो। उहाँले दोषीलाई छिट्टै पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्