सूचना विभाग र रेडियो नेपाललाई महासंघको अल्टिमेटम



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल पत्रकार महासंघले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चार गृहहरूको नाम सार्वजनिक गरी एक हप्ताभित्रै न्यूनतम पारश्रिमिक दिने बाध्यकारी व्यवस्था लागू गर्न सूचना तथा प्रसारण विभागलाई आइतबार अल्टिमेटम दिएको छ।

यसैगरी आज सोमबारभित्र दिपायल प्रसारण केन्द्रबाट हटाइएका तीन जना श्रमजीवी पत्रकारको सेवा निरन्तरता, न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न रेडियो नेपाल व्यवस्थापनलाई अल्टिमेटम दिएको छ।

दिपायल प्रसारण केन्द्रबाट हटाइएका तीन जना श्रमजीवी पत्रकारको सेवा निरन्तरता, न्यूनतम पारिश्रमिक कार्यान्वयन तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न रेडियो नेपाल व्यवस्थापनलाई अल्टिमेटम दिएको छ।

महासंघका कार्यबाहक अध्यक्ष दीलिप थापा मगरसहितको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक कृष्णमुरारी न्यौपानेलाई ध्यानाकर्षणपत्र बुझाउँदै आव २०७६–०७७ को दरबन्दी र श्रमजीवी विवरण नबुझाउने सञ्चारगृहको नाम सार्वजनिक गर्न र कानुनीरूपमा विवरण बुझाउन बाध्य पार्न विभागले सक्रियता नदेखाएको भन्दै एक साताभित्र माग पूरा नभए विभागविरुद्ध सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

यसअघि गत साउन १९ गते पनि महासंघले विभागसमक्ष सोही माग राखेको थियो।यसैगरी बिनाकारण निष्काशित गरिएका रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दीपायलमा कार्यरत महासंघ डोटी शाखाका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई सेवामा निरन्तरता, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन गरी यही भदौ २३ गतेसम्म महासंघलाई जानकारी नदिए भदौ २४ गतेदेखि रेडियो व्यवस्थापनविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनीसहितको पत्र महासंघले पठाएको छ।

विभाग र रेडियो नेपाल व्यवस्थापनसमक्ष माग प्रस्तुत गर्ने र सुनुवाइ नभए आन्दोलन गर्ने निर्णय महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिको समिति संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा शनिबार बसेको बैठकले गरेबमोजिम आइतबार ज्ञापनपत्र प्रस्तुत गरिएको हो।

कार्यबाहक अध्यक्ष थापा मगर र सचिव दाहालले संयुक्तरूपमा बुझाएको ज्ञापनपत्र बुझ्दै विभागका महानिर्देशक न्यौपानेले महासंघको माग सम्बोधन गर्न विभाग लागीपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ज्ञापनपत्र बुझाउने टोलीमा महासंघका केन्द्रीय सदस्य तथा समिति सहसंयोजक जन्मदेव जैसी, समिति सदस्यहरू यम विरही, मीन बम, महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरलगायतकोे सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्