रत्नमाला कसरी भइन् पूतना



-बाबुलाल भण्डारी

विष्णुले बलिराजाको दमन गर्न वामन अवतार धारण गरे। नर्मदा नदीका किनारमा बलिराजाले अश्वमेध यज्ञ गर्दै थिए। वामन त्यहीं गए। उनले कौपिन लगाएका छन् र पाउमा खराउ, हातमा कमण्डलु, छाता र दण्ड लिएका छन्।

उनको काखीमा मृगचर्म, शिरमा जटा र मुख ब्रह्मतेजले धपक्क बलेको छ। यज्ञका पुरोहित र यजमान यस्तो तेजस्वी ब्राह्मण वटुकलाई टकटकी लगाएर हेर्दै छन्।

बलिराजाकी उमेर पुगेकी छोरी थिइन्, रत्नमाला। मुहारमा चुम्बकीय आकर्षण भएको यस्तो फुच्चे ब्राह्मण कुमारलाई देखेर उनले यस बालकलाई जन्म दिने आमा कति भाग्यशाली होलिन् भनेर सोच्न थालिन्। उसका मनमा पनि वात्सल्य भाव जागेर आयो र वामनको आमा भएर आफैंले दूध चुसाएको कल्पना गर्न थालिन्।

तर, एकैछिनमा परिदृश्य फेरियो। वामनले दुई पाइलाले जमिन र आकाश नापेर बलिराजाको सर्वस्व लिए र तेस्रो पाइलाले बलिलाई पाताल पुर्याइदिए।

यसपछि बलिकी छोरी रत्नमालामा वामनप्रति पहिलेको चिन्तनको ठीकविपरीत तीव्र आक्रोशको भाव जन्मियो। उसमा वामनको हत्या गर्नेसम्मको विचार पलायो।

बलिपुत्री यही रत्नमाला यस्ता दुई परस्पर निषेधात्मक मनोभावको कारणले पुनर्जन्ममा पूतना भएर जन्मिइन्। पूतनाले पूर्वजन्मको विचार र संस्कारले गर्दा कृष्णलाई दूध चुसाएर मार्न चाहन्थिन् बालकृष्णजीले दूध चुसेरै उनको उद्धार गरिदिए।

८ विचारले घटनालाई निम्त्याउँछ र विचारले नै हाम्रो नियति तय गर्छ भन्ने अनेकौं उदाहरण छन्। त्यसैले भनिन्छ, विचार गर्दा चिन्तन गर्दा होस राख्नुपर्ने रहेछ।

 

प्रतिक्रिया दिनुहोस्