संस्कृत ग्रामभित्रको चर्चित मन्दिर गुम्बेसी कालिका



– रोहिणी घिमिरे
दोलखाको तत्कालीन लापिलाङ, लामिडाँडा र बाबरे गाविसलाई समेटेर विश्वकै नमुना संस्कृत ग्राम बनाउने योजना हिलापानी, दोलखाका व्याकरणाचार्य एवम् संस्कृतविद् जनार्दन घिमिरेले अघि सारेका थिए ।

यो योजना सफल भएपछि विश्वकै ध्यान यस संस्कृत भिलेजतर्फ आकर्षित हुने यसका परिकल्पनाकार जनार्दन घिमिरेले उद्घोष गरेका थिए ।

काठमाडौंका वयोवृद्ध वरिष्ठ इन्जिनियर शंकरनाथ रिमाल आफैं यहाँ पुगेर अवलोकन गरी संस्कृत ग्रामको भौतिक निर्माणको ढाँचा तयार गरेका थिए ।

यसको परिकल्पनाकार एवम् योजनाकार जनार्दन घिमिरेको सडक दुर्घटनामा परी निधन भएकाले हाल सो कार्य तदारुकताका साथ अघि बढ्न सकेको छैन । शायद कुनै बेला उनको परिकल्पना साकार हुनेछ र विश्वकै नजर यहाँ आकृष्ट हुनेछ ।

यही संस्कृत ग्रामभित्र पर्ने ऐतिहासिक गुम्बेसी कालिका मन्दिरको जीर्णोद्धारपछि अहिले व्यापक चर्चा हुने गरेको छ । यसको स्थापनाको प्रसंग एवम् यहाँ हुने गरेका अद्भूत घटनाहरुले यसको चर्चा बढेको हो ।

कालिञ्चोकबाट उडेको ज्वाला गुम्बेसीमा :

मध्यरातमा कालिञ्चोकको टाकुराबाट आगोको अद्भूत ज्वाला उडेर पूर्वतिर आयो । यो दृश्य देखेर गुवुबेंसी (गुम्बेसी)को गोठमा सुतेका अमरा नामका किसान छक्क परे । यो के हो र कता जान्छ भनेर उनमा कौतुहलता जाग्यो ।

गोठमा लगाएको बारले छेकिन सक्ने हुनाले उनी गोठबाहिरै आएर एकटकले हेरिरहे । एकैछिन्मा सो ज्वाला गोठनजिकै आएर जमिनमुनि धसियो र त्यहीँ विलय भयो । अमरा गोठभित्र गएर सुते । उनले यसबारेमा मनमा अनेक थरी तर्कना गरे ।

केही समयपछि अमरा निदाए । उनलाई स्त्रीरुप कालिञ्चोक कालिका देवीले सपनामा भनिन्, ‘तिमीले देखेको ज्वालाजस्तै आकारको शिला कालिञ्चोक टाकुरामा पुरिएको अवस्थामा छ ।

त्यसलाई लगेर ज्वाला धसिएको स्थानमा स्थापना गरी नित्य पूजा गर ।’ यो सपना देखेपछि अमरा निदाउन सकेनन् ।

उज्यालो भएपछि नुहाइधुवाइ गरेर केही साथीसहित उनी कालिञ्चोक टाकुरातिर लागे । कालिञ्चोकमा पुगी सपनामा देखेअनुसारको स्थानमा खन्दा आगोको ज्वालाजस्तै आकारको शिला फेला पर्यो ।

गुम्बेसीको जुन स्थानमा आगोको ज्वाला धसिएको थियो, त्यही स्थानमा सो आगोको ज्वालाजस्तै शिला ल्याएर स्थापना गरे । सोही शिला अद्यापि गुम्बेसी मन्दिरमा देख्न सकिन्छ ।

सुनिन्छ, कुनै समयमा कालिञ्चोक भगवतीले स्वप्नामा भनेअनुसार कालिञ्चोकमा फेला परेका तरबारमध्ये एउटा यस गुम्बेसी मन्दिरमा थियो रे ! तर यतिखेर यो किंवदन्ति मात्र भएको छ ।

कालिञ्चोकबाट ज्वालाका रुपमा कालिका देवीको अंश आफैं गुम्बेसीमा आएको र स्थापित शिला पनि कालिञ्चोकबाट नै ल्याइएकाले गुम्बेसी कालिकाको दर्शन कालिञ्चोकको दर्शन गरेसरह हुने बताइन्छ । यस मन्दिरमा अहिले पनि कालिकाको शिला आगोको ज्वाला लर्किएजस्तै कालिञ्चोकतिर नै लर्किएको देख्न सकिन्छ । भनिन्छ, यस मन्दिरमुनि ज्वाला बलिरहेको छ ।

ती तरबारमध्ये एउटा दोलखामा, एउटा सुनखानीमा र अर्को तोरिखेतमा भएको जानकारीमा आएको छ । त्यसमा पनि तोरिखेतमा भएको तरबारचाहिँ झन्डै ४० वर्षअगाडि स्वयं मैले स्पर्श गर्ने अवसर प्राप्त गरेको छु ।

जे होस्, वि.सं.को १२ औं शताब्दी अर्थात् ८ सय वर्षअगाडि भएको यस घटनापछि दोलखाको कालिञ्चोक कालिका देवीकी साहिँली बहिनीको रुपमा गुम्बेसी कालिका भगवतीका नामले पुजिँदै आएको गुवु कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपाने बताउँछन् ।

कालिञ्चोकबाट ज्वालाका रुपमा कालिका देवीको अंश आफैं गुम्बेसीमा आएको र स्थापित शिला पनि कालिञ्चोकबाट नै ल्याइएकाले गुम्बेसी कालिकाको दर्शन कालिञ्चोकको दर्शन गरेसरह हुने बताइन्छ ।

यस मन्दिरमा अहिले पनि कालिकाको शिला आगोको ज्वाला लर्किएजस्तै कालिञ्चोकतिर नै लर्किएको देख्न सकिन्छ । भनिन्छ, यस मन्दिरमुनि ज्वाला बलिरहेको छ ।

उता कालिञ्चोकमा भने बेलायतलाई कर्मथलो बनाएका दोलखाकै शिव भण्डारी र शारदा घिमिरे दम्पतीले वि.सं. २०५८ मा कालिका भगवतीको मूर्ति स्थापना गरेका छन् ।

कालिञ्चोक टाकुराको पूर्वी मोहडामा स्थापित पाषाण मूर्ति पाटन, ललितपुरमा बनाउन लगाएर दोलखाको खरिढुंगादेखि बोकेको भरमा त्यहाँ पुर्याइएको थियो । आफ्नो मनोकांक्षा पूरा भएकाले नै यसरी मूर्ति स्थापना गरेको शारदा भण्डारीका भाइ बाबुराम घिमिरे बताउँछन् ।

गुम्बेसी कालिकास्थानमा चाहिँ ८ सय वर्षअघि कालिञ्चोकबाट लगिएको ज्वालाजस्तै शिला अद्यापि छँदै छ ।

ऐतिहासिक धरोहर:

१२ औं शताब्दीदेखि १६ औं शताब्दीसम्म गुम्बेसी कालिका निकै चर्चामा थियो । त्यस बेला दर्शनार्थीको घुइँचो लाग्ने, गच्छेअनुसार घण्ट, त्रिशूल, गहना आदि चढाउने गरेको बुझिन्छ ।

१६ औं शताब्दीमा यहाँका बहुमूल्य सामग्रीसहित गुठीका लालमोहरजस्ता बहुमूल्य सामग्री आगलागीमा परी नष्ट भयो । सो कुरा सरकारमा जाहेर गरी कतिपय गुठीको पुनः लालमोहर जारी गरी लिनुपरेको इतिहास साक्षी छ ।

अहिले पनि त्यस बेलाको तामाको छत्र, चाँदीको मुकुट, हार, केही पूजाका भाँडा देख्न सकिन्छ । पुरातत्व विभागको सकृयतामा मन्दिर पनर्निर्माण गर्ने क्रममा पुराना इँटा तथा टायलका टुक्रा भटिनुले कुनै समयमा यहाँ सुन्दर र व्यवस्थित मन्दिर थियो भन्ने अनुमान गर्न गाह्रो छैन ।

कालिञ्चोक गाउँपालिका वडा नं. ५ गुम्बेसीमा अवस्थित यस कालिका भगवतीको नाममा ९ सय रोपनी गुठी जग्गा छ । यसमध्ये धेरैजसो आवादी नै छ ।

जिल्लाकै धेरै गुठी जग्गा हुने दोलखा भीमेश्वर पहिलो हो भने गुम्बेसी कालिका दोस्रोमा आउने गुठी व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपाने बताउँछन् ।

धार्मिक पर्यटकीय गन्तव्य :

कालिञ्चोकको फेदी कुरीस्थित गणेश थुम्कीबाट पूर्वतर्फ हेर्दा यो धार्मिक स्थल निकै रमणीय देखिन्छ । पूर्वमा गौरीशंकर हिमाल, दक्षिणमा भद्रावती नदी (गुबुखोला), पश्चिममा कालिञ्चोकको कुरीबाट झरेको झरना र उत्तरतिर गोल्मा–लामापोखरीसम्म फैलिएको पहाडी भूभाग यहाँका मनोरम दृश्यहरु हुन् ।

कालिञ्चोकको फेदी कुरीको गणेश थुम्कीबाट हेर्दा यी सबै दृश्यहरु एकैपटक देख्न सकिन्छ । गणेश थुम्कीबाट अविरल झरिरहेको भद्रावती झरनाले यस ठाउँको शोभा झनै बढाएको छ ।

दोलखा भीमेश्वर मन्दिरबाट ३५ किलोमिटर उत्तरमा अवस्थित यो मन्दिर पुरातात्विक महत्वको भएकाले पुरातत्व विभाग, गुठी संस्थान एवम् विभिन्न संघसंस्थाको सहयोगमा मन्दिरको पुनर्निर्माण कार्य भएको छ ।

गुठी संस्थान केन्द्रीय कार्यालयबाट नै दैनिक पूजा गर्ने एक पूजारी र एक सहयोगी कर्मचारीको व्यवस्था गरिएको छ ।

यहाँ मंसिरको धान्य पूर्णिमामा भव्य मेला लाग्छ । साथै बडादशैं, चैतेदशैंमा दुर्गा सप्तशती चण्डी पाठ एवम् बलिपूजाका लागि भक्तजनको भीड लाग्ने गर्छ ।

अद्भूत घटना :

गत वैशाखको कुरा हो, यस गुम्बेसी कालिका मन्दिरनजिकै रहेको हिलेपानी संस्कृत मा.वि.का गणित शिक्षक टंकप्रसाद भण्डारी एकदिन कालिकाको दर्शनार्थ गएका थिए ।

स्थानीय रामेश्वर न्यौपानेसहित अन्य भक्तहरु पनि त्यहाँ पुगेका थिए । शिक्षक भण्डारीले मन्दिरभित्र रहेको कालिकाको शिलालाई हेर्दाहेर्दै सिंहरुप देखेछन् । आफैंलाई झम्टेर आउलाजस्तो भएपछि डरले उनी हस्याङफस्याङ गर्दै मन्दिरबाहिर निस्केछन् ।

स्थानीय रामेश्वर न्यौपानेले ‘ए भण्डारी सर ! किन भागेको ?’ भनेर सोधेछन् । मन्दिरभित्र झन्डै सिंहले झम्टेको भनेर ती शिक्षकले सुनाउँदा सबैजना भित्र हेर्न गए । तर सिंह अदृश्य भइसकेको कुरा रामेश्वरकै बुबा बताउँछन् ।

यस्तै तत्कालीन लापिलाङ–१ का प्रेमध्वज बस्नेत पूजारी भएको समय २०५९ सालको कुरा हो, उनी नित्य पूजाका लागि मन्दिरभित्र पसे ।

अम्खोराको पानीले कालिका भगवतीको ज्योतिरुप शिला पखाल्न खोज्दा सेलरोटी खात लगाएजस्तो गरी शिलालाई सर्पले बेरेको देखे । सर्पको टाउको छाताजस्तो बनेर शिलालाई संरक्षण दिइरहेको थियो ।

त्यसपछि पूजारी बस्नेतले डराएर ‘हे कालिका ! यस्तै हो भने अब म पूजा गर्न सक्दिनँ’ भनी पुकारा गरे । तुरुन्तै सर्प फुक्दै गयो र निस्कियो । त्यसपछि त डरले उनले पूजा गर्न नै छोडेको समितिका अध्यक्ष न्यौपाने बताउँछन् ।

बेला–बेलामा सिंहरुप देखिने र आफैं घण्ट बज्ने गरेको विगतका पूजारीले पनि बताउने गरेका थिए । झन्डै २५ वर्षअगाडि बिस्मुरेका डिल्लीराम न्यौपाने (तत्कालीन पूजारी) ले पनि पूजा गर्न जाँदा यस्तो दृश्य देखेको बताएका थिए ।

अहिले पनि कहिलेकाहीँ मन्दिरभित्रको घण्टको आवाज आफूले सुनेको हालका पूजारी हरि भण्डारी बताउँछन् ।

इच्छा पूरा हुने विश्वास

स्वच्छभावले गुम्बेसी कालिका भगवतीको दर्शन–पूजन गरेमा मनोकांक्षा पूरा हुने भनाइ छ । हाल काठमाडौं निवासी भूपू इन्डियन आर्मी लक्ष्मीप्रसाद न्यौपानेले बढुवाको इच्छा गरेर मन्दिरको छाना मर्मत गराउँदा तुरुन्तै प्रमोसन भएको वृद्ध भइसकेका न्यौपाने आफैं बताउँछन् ।

यस्तै विद्यार्थी जीवनमा यहाँ गएर आफैंले चण्डीपाठ गर्दा इच्छा पूरा भएकोले गुम्बेसी कालिकाप्रति बढी नै आस्था जागेको हाल काठमाडौं निवासी राधिका घिमिरे बताउँछिन् ।

गाउँमा खडेरी पर्दा होस् वा अतिवृष्टि हुँदा अथवा कुनै अप्रिय घटना हुने संकेत भएमा रोकथामको अभिप्रायले यस मन्दिरमा क्षमापूजा गर्ने परम्परा नै छ । यसरी पूजा गरेपछि अनिष्ट हट्ने विश्वास गरिन्छ । क्षमापूजा गरेपछि अनिष्ट टर्ने गरेको पनि यदाकदा भेटिन्छ ।

यहाँको दर्शन नगरे कालिञ्चोक कालिकाको दर्शन मात्रै अपूरो हुने यस क्षेत्रका बासिन्दाको भनाइ छ ।

यातायातको सुविधा भएकाले दोलखा भीमसेन, कालिञ्चोक र गुम्बेसी कालिकाको एकै यात्रामा दर्शन गर्न सकिन्छ । पदयात्रा गर्ने हो भने पनि कालिञ्चोकबाट ५–६ घण्टामा गुम्बेसी कालिका पुग्न सकिन्छ ।

पुरातत्व विभागको समेत ध्यान आकृष्ट भएको ऐतिहासिक, धार्मिक एवम् पर्टकीय स्थल यस गुम्बेसी कालिका भगवतीको दर्शन एवम् अवलोकन गर्न किन पछि पर्ने ?

 

 

प्रतिक्रिया दिनुहोस्