बिम्बभित्र अर्को कुरुक्षेत्र



विदुर गिरी

राजधानीका नाटकप्रेमीले यसपटक बिम्ब नै बिम्बले भरिएको एउटा सशक्त नाटक हेर्न पाए। झन्डै एक महिना लामो समयसम्म यसपालि सर्वनाम थिएटरमा मञ्चन भयो अर्को कुरुक्षेत्र।परापूर्वकालदेखि महिलामाथि हुँदै आएका दमन र अत्याचारमाथि बनेको थियो नाटक अर्को कुरुक्षेत्र।

द्वापर युगदेखि अहिलेको २१औं आधुनिक शताव्दीसम्म नारीमाथि भएका अवरोध र अन्यायलाई विषय बनाई प्रस्तुत गरिएको नाटकमा लक्स ब्युटी स्टार–२००४ मा मिस ब्युटिफुल हेयर र सन् २००६ मा दक्षिण कोरियामा सम्पन्न वल्र्ड मिस युनिभर्सिटी उपाधि जित्न सफल वान डे, कुसमे रुमाल–२ र इकुजस्ता फिल्मकी नायिका उषा रजक अन्याय र अत्याचारका रूपमा टाउको उठाउने पात्रका रूपमा उभिँदा उनको अभिनय कलाको उचाइ वृद्धि भएको महसुस नाटक हेर्नेहरूले गरे।

सवा १ घन्टा लामो नाटकमा उषाले अभियनका माध्यमले द्वापर युगकी द्रौपदीदेखि अहिलेका आधुनिक नारीसम्मले भोग्दै आएका पीडा र अत्याचारलाई यसरी छर्लंगै बनाइदिइन् कि शनिबारको अन्तिम शोसम्म पनि दर्शक उनको अभिनय क्षमता देखेर मख्ख परे।

उषाले एउटै नाटकभित्रका विभिन्न चरित्रमा अभिनय गरेर आफ्नो बहुप्रतिभा मात्र प्रदर्शन गरिनन्, कसिलो नाटकमा कडा शारीरिक परिश्रमसमेत प्रदर्शन गरेर वाहवाही पनि पाइन्।

‘म को हुँ? कसले रच्यो मलाई? कसले यो बन्द पर्खालभित्र बन्दी बनायो मलाई? कुन युग, कालखण्डको अस्तित्व हुँ म? कहिले सीता बनेर अग्निपरीक्षा दिनुपर्ने, कहिले निर्मला मृत्यु मरें, कहिले रामबतिया भएर जलें। कहिले अनुहारभरि एसिड छ्यापिएर जलें। धेरैपटक मरेकी छु, धेरैपटक अकाल मृत्यु भोगेकी छु।

कुनै कालखण्डमा चीरहरणको पीडा भोग्ने द्रोपदी पनि मै हुँ। आफ्नै पतिलाई अग्निपरिक्षा दिने सीता पनि मै हुँ?’ बिम्बलाई विशेष महत्व दिइएको नाटकमा बन्द कोठाभित्र थुनिएको बिम्ब प्रयोग गर्दै उषा नाटकको शुरूमै विद्रोहको कथा बोल्छिन्– ‘कति कृष्णकै प्रतीक्षा गरिरहुँ आउलान् अनि बेरिदेलान् मेरा सारी?

महाभारतका पानाहरूमा कति तिमीहरूकै वीरताका गाथाहरू बोकिरहुँ? सीता पनि मै हुँ, रावणले हरेकै हो मलाई। आफ्नै पतिको अग्निपरीक्षामा होमिनुपर्यो, कति दिइरहुँ परीक्षाहरू?

सीताको परीक्षा लिनेहरूले रामको परीक्षा किन लिएनन् होेला? सत्ता र शक्तिहरू मौन छन्, जसरी मौन थिए भीम र अर्जुनहरू।’ नाटक महाभारतको कथासँग जोडिएको छ।

महाभारतमा कौरव र पाण्डवको लडाइँ चलेको थियो भने अर्को कुरुक्षेत्रमा चाहिँ लेखक र उसले जन्माएको पात्र (उषा) बीच लडाइँ चल्छ।विभिन्न कालखण्डको प्रतिनिधत्व गर्दै फरक–फरक चरित्रलाई उभ्याउँदै उषा कसैले आफ्नो घरमा आगो लगाइदिँदा पिताको मृत्यु भएपछि विक्षिप्त हुन्छिन् नाटकभित्र।

पतिशोकमा डुबेकी आमाको भूमिकामा समेत मञ्चमै पहिरण परिवर्तन गरी आफैं अगाडि आउँछिन्। पतिशोक र सामाजिक बन्धनका कारण आत्महत्या गर्न पुगेकी आमाको दाहसंस्कार उनैले गर्छिन्।

समाजबाट आत्महत्या गर्न प्रेरित गरिएकी उनले त्यसो नगरेपछि उनीमाथि आक्रमणको प्रयास हुन्छ, विभिन्न अवरोध र बाधा उत्पन्न गरिन्छ।

त्यसै बीचमा एक युवकले उनलाई जोगाउँछ र उनी तीनै युवकको प्रेममा पर्छिन्। समाजले युवकको हत्या गरेपछि उनी विद्रोहमा उत्रिन्छिन्। अनि १ सय ७० सिट संख्याको सर्वनाम थिएटरको सानो रंगमञ्चमा फेरि बन्छ अर्को कुरुक्षेत्र। अनि चल्छ भयंकर युद्ध।

नाटकमा यसका परिकल्पनाकार, लेखक तथा निर्देशक अशेष मल्लले आफ्नो विशेष शैली बिम्बलाई फेरि पनि भरपूर मात्रामा प्रयोग गरेका छन्।

समय बित्दै गएकोदेखि लिएर पात्र फेरिएकोसम्म, बलात्कार भएकोदेखि लिएर प्रेम र रोमान्ससम्म उनले बिम्बको सहयोग लिएका छन् प्रस्टै बुझिने गरी।

खोलानालादेखि लिएर कालकोठरीसम्म प्रस्तुत गर्न पनि उनले बिम्बकै सहयोग लिएका छन् भने मञ्चमा भएका कलाकारहरूलाई नै नाटकको प्रपर्टी बनाउने खुबीसमेत मल्लले देखाएका छन्।

नाटक हेर्दा ८ वर्ष किर्जिकिस्तानमा बसेर १२ वर्षपछि रंगमञ्चमा फर्केकी उषा रजक ऊर्जावान रंगकर्मी लाग्छिन् भने फेसियल एक्सप्रेसनमा माहिर र डाइलग डेलिभरिमा गहकिलो।

मनोज महर्जन, मुकेश हमाल, बिन्दु बीएम, रिया भारती, पासलाक्पा शेर्पा, हीरा हमाल, धिरज थापा मगर, शोभा कार्की र कसिना बेखिम लिम्बुको अभिनय लोभलाग्दो लाग्छ।

सम्पदा मल्लको कथामा तयार भएको अर्को कुरुक्षेत्र राज शाहको मञ्च र प्रकाश परिकल्पना तथा सुन्दर लामाको कला सिर्जनाले बेजोड बन्न पुगेको छ।

प्रतिक्रिया दिनुहोस्