एकैसाथ बाबु–छोरा विद्यार्थी नेता हुन छोडौं ः आचार्य



काठमाडौं, (नेस)।नेपाली कांग्रेसका बौद्धिक नेता नरहरि आचार्यले आफ्नै निवासमा शनिबारदेखि राजनीतिक मुद्दामा बहस शुरू गरी जागरण अभियान थाल्नुभएको छ। आचार्यको निवास चुनदेवी, महाराजगञ्जमा भएको बहसमा तरुण, विद्यार्थी र राजनीतिका विषयमा छलफल भयो।

कार्यक्रम प्रारम्भ गर्र्दै आचार्यले तरुण भन्नाले उमेरले मात्रै युवा भनेको होइन चिन्तनले युवा रहेका हरेक वर्ग यस समुदायमा समेटिन्छन् भन्नुभयो। ‘जसको उत्साह, जाँगर सबै कुराले तरुण हुन्छ र यो पुलिङ्गी शब्दजस्तो लागे पनि लैङ्गिक निरपेक्ष शब्द भएको म सबैलाई जानकारी गराउँछु’ आचार्यले भन्नुभयो।

आचार्यले नेपाल कांग्रेसभित्र युवाको गतिविधि कमजोर भएको टिप्पणी गर्नुभयो। ‘हाम्रो विद्यार्थी संघ गठन नभएको अवस्थामा छ, गठन भएका पनि कोही तातेका छैनन्, सबै सेलाएको देखिन्छ’ आचार्यले भन्नुभयो– पहिला विद्यार्थी र तरुणको प्रभाव हामी विद्यार्थी हुँदा पार्टीहरूमा तीव्र नै थियो, पार्टी भन्नु नै विद्यार्थी संघ थियो, नेविसंघलाई सबैले चिन्दथे, नेपाली कांग्रेसलाई चिन्दैनथे, पार्टी प्रतिबन्धित थियो, राजनीतिक गतिविधि भनेको नेविसंघले चलाएको गतिविधि थियो, अहिले बाबु पनि विद्यार्थी नेता छोरा पनि विद्यार्थी नेता हुन्छन्।

केन्द्रीय सदस्य बद्री पाण्डेले भन्नुभयो– ‘यतिखेर हाम्रो पार्टीभित्र केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा भ्रातृसंगठन र शुभेच्छुक संस्थाको मापदण्डसमेत छुट्याउने गरी कार्यभार तोकिएको छ। यसले भ्रातृसंगठनको विधानहरूलाई पनि फाइनल गर्दै छ, अहिले नेविसंघ तरुणदलको काम दोहोरो परेको छ।’

‘कामको वर्गीकरणका साथै उमेरको हद पनि स्पष्ट गर्नुछ, विद्यार्थीका विषयमा सबै पार्टीको साझा सहमति बनाउने हो भने १२ कक्षासम्म संगठन गर्ने काम रोकौं’ पाण्डेको सुझाव थियो, कलेजमा हुने युनिटहरूले अतिरिक्त क्रियाकलाप गर्ने, वादविवाद, खेलकुल, निबन्ध गर्ने गरौं। केन्द्रीय समितिको काम विद्यार्थीको समस्याहरूको सूत्रबद्ध गरेर आएको समस्या समाधान गर्ने बनाऔं।

धादिङ कांग्रेसका सभापति रमेश धमलाले हिजो नेविसंघ लोकतन्त्र ल्याउनका लागि राजासँग लड्नका लागि आवश्यक थियो, आजको नेविसंघ केका लागि भनेर प्रश्न गर्नुभयो। प्रश्नपछि आफैंले जबाफ दिँदै भन्नुभयो संघीय लोकतान्त्रिक गणतन्त्रमा उसको भूमिका प्रष्ट हुनुपर्छ।

उहाँले ४५ वर्षभन्दा माथिको मान्छे तरुण हुनै सक्दैन भन्दै ठूलाठूला परिवर्तन गर्दा हाम्रो उमेर कति थियो हेर्नुपर्यो भनेर सुझाव दिनुभयो। ‘आत्म केन्द्रीत र शक्ति केन्द्रीत नेतृत्वबाट यो अगाडि बढ्न सक्दैन, अहिले कांग्रेसको जिम्मेवारीमा रहेका सबै असन्तुष्ट हुनुहुन्छ, हामी सभापतिको पनि आफ्नै गुनासो छ यो क्रम तलसम्म पुगेको छ’ –उहाँले भन्नुभयो।

कार्यक्रममा विद्यार्थी एवं लेखक साश्वत घिमिरे, अस्मिता श्रेष्ठ, हुमादेवी शर्मालगायतले पनि बोल्नुभएको थियो। छलफलमा कांग्रेस जिल्ला सदस्य रामचन्द्र घिमिरे काठमाडौं, राजेन्द्र अर्याल धादिङ, वसन्त श्रेष्ठ टोखा नगरसभापति, उद्धव खत्री काठमाडौं तरुण दल, श्याममणि आचार्य, रमा नेपाली, तालबहादुर रावत, नवीन पाण्डे, दिनेश भट्टराईलगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्