मेलम्चीमा कफ्र्यु र धर्ना जारी



काठमाडौं, (नेस)। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रको अम्बाथान, सिन्धु तथा ग्याल्थुम अडिट क्याम्प र मेलम्ची कार्यालय क्षेत्रमा शुक्रबारदेखि अनिश्चित्कालीन कफ्र्यु जारी रहेको छ।

प्रशासनले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कफ्र्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो।

‘मेलम्ची आयोजनाको काम गर्ने समयमा अवरोध नआओस् भनेर आयोजनाको मागअनुसार कफ्र्यु जारी गरिएको हो’, उहाँले भन्नुभयो– ‘उहाँहरूबीच सहमति नहुञ्जेल कफ्र्यु जारी रहन्छ।’

काफ्र्यु जारीसँगै भुक्तानी पाउनुपर्ने माग राख्दै आएको आयोजनापीडित संघर्ष समितिले आन्दोलनका रूपमा परिवर्तन गरेको समितिका संयोजक विष्णुमणि आचार्यले बताउनुभयो।

कफ्र्युबाहेकको समयमा आन्दोलन भइरहेको उहाँको भनाइ थियो। ‘कफ्र्यु लगाएर ५ जना जम्मा हुन दिएको छैन। यो १०–५ बजेसम्म हो।

तर, हामीले बिहान ६ बजेदेखि १० बजेसम्म धर्ना दिने काम गरिरहेका छौं।’ –संयोजक आचार्यले बताउनुभयो। अहिले विभिन्न तवरबाट छलफल भइरहेको उहाँको भनाइ थियो।

‘आन्दोलनको चार दिनसम्म केही प्रगति भएको छैन भनेर हामी हतोत्साही भएका छैनौं।’उहाँले भन्नुभयो– ‘अहिले छलफल पनि चलिरहेकाले माग पूरा हुनेमा उत्साहित पनि छौं।’

बुधबारदेखि समितिले आन्दोलन थालेपछि खानेपानी मन्त्रालयले बिहीबारै टोली गठन गरेको छ। मन्त्रालयका खानेपानी महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो।

मेलम्चीको सुरुङको काम गर्ने मुख्य ठेकेदार कम्पनी सीएमसीसँग करारमा काम गरेका स्थानीय मजदुर तथा सप्लायर्सले भुक्तानी पाउनुपर्ने माग राख्दै बुधबारदेखि आन्दोलन थालेको थियो।

बिहीबार मेलम्चीको मुहान क्षेत्र अम्बाथानमा झडप भएपछि जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले शुक्रबार अन्तिश्चितकालीन कफ्र्यु जारी गरेको हो। झडपका क्रममा दुई प्रदर्शनकारी समेत घाइते भएका थिए।भेन्डर तथा स्थानीय सप्लायर्सहरू र मजदुर गरी १ अर्ब ६१ करोड रुपियाँभुक्तानी लिनुपर्नेछ।

स्थानीय भेन्डरको साढे १६ करोड, आठ सय जना स्थानीय मजदुरको साढे ८ करोड रुपियाँरकम भुक्तानी त्यही रकमबाट हुनुपर्ने माग रहेको छ। तर सरकारले भने मजदुरबाहेक भेन्डर तथा स्थानीय सप्लायर्सलाई दिन कानुनले नमिल्ने भन्दै अल्झाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्