चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

आज उच्चस्तरीय भेटवार्तामा व्यस्त



नेपाल समाचारपत्र, काठमाडौं। नेपालको तीनदिने औपचारिक भ्रमणका क्रममा चिनियाँविदेशमन्त्री वाङ यी आइतबार साँझ काठमाडौं आइपुग्नुभएको छ। १२ सदस्यीय चिनियाँप्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँनेपाल आइपुग्नुभएको हो।

आज सोमबार दिनभरजसो वाङ उच्चस्तरीय भेटवार्ता र दुवै मुलुकका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने नेपाल–चीन द्विपक्षीय बैठकमा सहभागी रहनुहुनेछ।

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)अन्तर्गतका विभिन्न परियोजना, पारवहन सम्झौता, चिनियाँसहयोगमा नेपालमा निर्माणाधीन विभिन्न परियोजनाबारे छलफल र सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

के–कस्ता विषयमा सम्झौता हुन्छन् भन्नेबारेमा मन्त्रालयले प्रस्ट्याएको छैन। चीनसँग भएको पारवहन सम्झौता कार्यान्वयनका लागि उत्तरी नाका जोड्ने सडकको स्तरोन्नति, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, रेल सेवा, व्यापार, कनेक्टिभिटी जस्ता विषयमा परिणाममुखी वार्ता हुने मन्त्रालय स्रोतले जनाएको छ।

द्विपक्षीय वार्तामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास बैरागी, अर्थ सचिव राजन खनाल, शिक्षा सचिव महेशप्रसाद दाहाल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल सहभागी हुनुहुनेछ।

त्यस अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू भरतराज पौडेल, कालीप्रसाद पोखरेललगायतका अधिकारी पनि सहभागी रहने बताइएको छ।

यसै गरी चिनियाँपक्षबाट विदेशमन्त्री सीको नेतृत्वमा चिनियाँविदेश मन्त्रालयका उपविदेशमन्त्री लु झाओहुई, चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका उपाध्यक्ष देङ बोकिङ, नेपालका लागि चिनियाँराजदूत हाउ याङछीलगायतका अधिकारी सहभागी रहनुहुनेछ। मन्त्रीस्तरीय वार्ता दिउँसो तीन बजेपछि हुँदै छ।

त्यसपछि विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। चिनियाँटोलीले राष्ट्रपति भण्डारीसँग साँझ ६

बजेदेखि करिब ४० मिनेट र त्यसअघि प्रधानमन्त्री ओलीसँग बालुवाटारमा ५ बजेपछि करिब ४५ मिनेट भेटवार्ता गर्नेछ।
विदेश मन्त्री वाङले भोलि मंगलबार सत्तारुढ दलका अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुहुनेछ।

चिनियाँराज्य परिषद्का सदस्यसमेत रहनुभएका वाङको दोस्रो कार्यकालको यो पहिलो नेपाल भ्रमण हो। साथै वर्तमान सरकार गठन भएपछि चीनका तर्फबाट भएको पनि यो पहिलो नै उच्चस्तरीय भ्रमण हो।

चिनियाँराष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहनुभएका वाङ दुईपटक नेपाल भ्रमणमा आउनुभएको थियो।

यसपटकको उहाँको नेपाल यात्राले चिनियाँराष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण वातावरण बनाउन सहयोग पुग्ने र भ्रमणको सम्भावित मिति पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

शनिबार पाकिस्तानको इस्लामावादमा चीन–अफगानिस्तान–पाकिस्तानको त्रिपक्षीय विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुभएका वाङ इस्लामावादबाट सोझै काठमाडौं आउनुभएको हो।

वाङ नेतृत्वको चिनियाँटोलीलाई आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत मन्त्रालयका अधिकारीले स्वागत गर्नुभयो। विदेशमन्त्री वाङ भोलि मंगलबार दिउँसो स्वदेश फर्कने कार्यतालिका तय भएको छ।

प्रतिक्रिया दिनुहोस्