गाउँपालिका अध्यक्षलाई बहुविवाहको मुद्दा दर्ता



न्युज अफ नेपाल, प्यूठान । गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीलाई बहुविवाहको विरुद्ध मुद्दा दायर भएको छ । पत्नीले बहुविवाहको मुद्दा दर्ता गराएकी हुन् । मुद्दा दायर भएको खबर पाएसगैँ आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका छन। भदौ १० गते गौमुखी गाउँपालिका ४ पुँजा बस्ने पत्नी सीता केसीले गिरीविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

प्रहरीका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ।

अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको दाबी गरेका छन्। ‘विवाह लुकेर गर्ने कुरा होइन’, उनले भने, ‘विवाह गर्नैपरे सबैलाई खवर गर्छु।’ गिरीले यसअघि सम्बन्ध विच्छेदको मुद्दा हारेका थिए। गिरी दम्पत्ति १० वर्षदेखि अलग बस्दै आएका छन्।

यसअघि सम्बन्ध विच्छेदको मुद्दा आफूले हारेको प्रतिक्रिया दिँदै गिरीले सम्पत्तीको विषयमा मुद्दा चलिरहेको बताएका छन्। पत्नी केसी दुई छोरीसँगै विजुवारमा कोठा भाडामा बस्दै आएकी छन्। उनले दोस्रो विवाह गरेको प्रमाणको आधारम मुद्दा दायर गरेको दाबी गरेकी छन्।

गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिताको दफा १७५ को उपदफा ४ बमोजिम सजाय हुन्छ । दफा १७५ को उपदफा ४ मा बहुविवाह प्रमाणित १ वर्षदेखि ५ वर्षसम्म कैद र दश हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्