पूर्व महारानीलाई स्तन क्यान्सर, शल्यक्रिया गर्ने तयारी



टोकियो । जापानका पूर्व महारानी मिचिकोलाई स्तन क्यान्सर भएकाले शल्यक्रिया गरिने भएको छ । आइतबार ८४ बर्षीया महारानीलाई प्रारम्भिक चरणमा रहेको क्यान्सरको शल्यक्रिया गर्न लागिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

मिचिकोका पति अकिहितोले गत अप्रिलमा औपचारिक रुपमा राज्यसत्ता त्याग गर्नुभएको थियो ।

विश्वमा विगत झण्डै २०० वर्षको राजतन्त्रको इतिहासमा जीवित रहेका राजाले स्वेच्छाले राजकाज त्याग गरेको पहिलो घटना भएको बताइएको छ ।

महारानी मिचिकोको शल्यक्रिया टोकियो विश्वविद्यालयको अस्पतालमा गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय संचार माध्यमहरुका अनुसार उहाँको शल्यक्रिया केही घण्टामै सकिएर त्यसको नतिजा पनि आइतबार बेलुकासम्ममा सार्वजनिक भइसक्ने छ ।

शल्यक्रिया गर्नुअघि पूर्वराजा अकिहितो र उहाँकी छोरी सायाको कुरोदाले मिचिकोलाई अस्पतालमै भेट्नु भएको थियो ।

छोरी सायाकोले एक सर्वसाधारणसँग विवाह गरेपछि उहाँको राजकुमारीको पदवी खोसिएको थियो ।

जापानका पूर्वराजा अकिहितो र पूर्वरानी मिचिकोले विश्वमा परम्परागत राजतन्त्रलाई नाटकीय रुपमा आधुनिकीकरण गरेको मानिन्छ ।

पूर्वरानी मिचिकोको जन्म सन् १९३४ मा टोकियोस्थित टोकियो विश्वविद्यालयको अस्पतालमै भएको थियो ।

विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढ्नुअघि उहाँले बालिकाहरु मात्र पढ्ने क्रिश्चियन स्याक्रिड हार्ट स्कुलमा अध्ययन गर्नुभएको हो ।

उहाँको कोखबाट वर्तमान राजा नारुहितोको जन्म सन् १९६० मा भएको थियो । उहाँका दोस्रो छोरा अकिशिनोको जन्म सन् १९६५ मा भएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्