चिनियाँ विदेशमन्त्री काठमाडौं आइपुगे, प्रदीप ज्ञवालीसँग भने सोमबार भेटवार्ता हुने



न्युज अफ नेपाल, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी ३ दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । आज साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गर्ने कार्यक्रम तयार गरिएको छ । भेटमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङको समकक्षी प्रदीप ज्ञवालीसँग भने सोमबार भेटवार्ता हुने छ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

वाङको भ्रमण नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको उच्चस्तरीय भ्रमण हो । चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ यसअघि सन् २०१४ मा नेपाल आएका थिए ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने भनिए पनि मिति निश्चित भइसकेको छैन । परराष्ट्रमन्त्रालयका अधिकारीहरु भने असोज अन्तिम साता भारत भ्रमणमा आएका बेला सी नेपाल पनि आउनेमा आशावादी छन् ।

 

प्रतिक्रिया दिनुहोस्