विप्लव समूह छाडेर लुटपाटको धन्दा गर्न शुरू



न्युज अफ नेपाल, काठमाडौं । विप्लव समूह छाडेर लुटपाटको धन्दा गर्न थालेका छन् । २९ वर्षीय योर्साङ घले केही समय अगाडिसम्म नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता थिए ।

सरकारले प्रतिबन्ध लगाएपछि पार्टीका धेरै नेता भूमिगत भए । भूमिगत नेताहरुबाटै आएका निर्देशनानुसार योर्साङसहित उनका साथीहरु भने पार्टीका काम गर्थे । पार्टीको काम गर्दा गर्दै केही साथीहरु पक्राउ परेपछि योर्साङले पार्टी छाडे ।पार्टी छाडेर सर्वसाधारणको जीवन जिउन शुरु गरे । तर, उनको जीवन सर्वसाधारणजस्तो भएन । सर्वसाधारणदेखि ठूला व्यापारीहरुलाई धम्क्याएर सजिलै पैसा पाउन सकिन्छ भन्ने कुरा उनले पार्टीमा सिकिसकेका थिए ।

उनको चाहनाका लागि पार्टीमा छँदा सिकेको शैली उनलाई सहयोगी बन्यो । त्यहि सिप प्रयाेग गर्दै लुटपाटको अर्को धन्दा शुरु गरे।

रसुवा नाका हुँदै चीनबाट अवैध रुपमा भित्रिने सुन लुट्ने उनको प्रयास केही पटक विफल भएको थियो । यद्यपि, उनले सुन लुटेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यार्साङले राइफल देखाएर सुन लुट्ने गरेको प्रहरीले बताएको छ ।

यार्साङ अहिले भने प्रहरीको हिरासतमा छन् । प्रहरीले शनिबारमात्रै यार्साङसहित उनका अन्य ७ जना साथीलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।

उनीहरुको समूहले भदौ १९ गतेमात्रै एकजना सुनचाँदी व्यवसायीबाट नगदसहित सरसमान लुटेको थियो । उनीहरुले भदौ १९ गते काठमाडौंको गोंगबुबाट गहना पसल सञ्चालक योगेश विकको कञ्चटमा पेस्तोल ताकेर उनको साथमा भएको नगद र सरसामान लिएर भागेका थिए ।

योगेशले नै दिएको सूचनाका आधारमा प्रहरीले ८ जनालाई नै पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा यार्साङ घलेका अतिरिक्त गोरखाको अजिरकोट घर भएका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोटको तारकेश्वर घर भएका २९ वर्षीय राम बहादुर तामाङ, नुवाकोटको विदुर घर भएका २५ वर्षीय राज तामाङ, धादिङ घर भएका २७ वर्षीय विजय तामाङ, नुवाकोटको विदुर घर भएका ३० वर्षी पिटर तामाङ, नुवाकोटकै तारकेश्वर घर भएका ३० वर्षीय राजन तामाङ र गुल्मीको इस्मा गाउँपालिका–५ घर भएका युवराज भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ परेका यार्साङ घले र युवराज भण्डारी बाहेक सबैजना काठमाडौं महानगरपालिका–१६ स्थित हाई रेस्टुरेन्ट एण्ड बारका सञ्चालक हुन् । बारका प्रमुख सञ्चालक कुशल अधिकारी समेत हुन् । नेपाली सेनाका भगौडा अधिकारीले लुटपाटको योजना बनाएर अन्य व्यक्तिलाई समावेश गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरुको साथबाट २ थान चाइनिज पेस्तोल, २ वटा म्यागेजिन र ४ राउण्ड गोली समेत बरामद गरेको छ । उनीहरुको साथबाट १ किलो नक्कली सुन, फलाम काट्ने औजार, विभिन्न व्यक्तिबाट लुटिएको पर्स, एटिएम कार्ड, मोबाइल, लुटिएको कपडा र मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्