नेपाली बजारमा भारतीय स्याउ, स्वदेशी स्याउ १ रुपैयाँमा ३ दाना, नबिकेर बस्तुलाई कुँडो



दयाराम पण्डित, बाजुरा ।

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीयका बारीमा थुप्रै स्याउका बोट छन् ।

यहाँको मूख्य पेसा नै स्याउ खेती हो । बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ। गाउँलेलाई यसैको चिन्ताले सताउँछ । उनीहरुले एक रुपैयाँमा तीन दाना दिने भन्दा पनि खासै विक्रि हुँदैन । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ।

गाउँले भन्छन्, ‘बारीमा आएर किलोमा कोही किन्दैनन्। दानाकै हिसाबले बेच्ने गरेका छौँ।’

यो अहिले चिन्ता मात्रै हाइन यो वर्षेनी खेप्दै आइरहेको घटना हो । वर्षेनी लाखौं मूल्यको स्याउ खेर जाने स्थानीय बताउँछन् । स्थानीय खुमबहादुर शाही भन्छन, ‘किन्न कोही आउँदैन।

बजार निकै टाढा छ। भरियालाई बोकाएर पुर्याउन असम्भव छ । स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाने गरेका छौँ । कम्सेकम दुध त खान पाइएला।’ गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ। कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसानहरुले बताउँछन् ।

नेपाली बजारमा स्याउ महँगो छ । भारतीयले नेपाली बजारमा ठेलामा स्याउ विक्रि गर्दा राम्रै मूल्य पाउने गर्छन् । तर स्वदेशी उत्पादनलाई ध्यान नदिँदा यस्तो अवस्था सिर्जना भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्