चार जना शिक्षकलाई चाँदीको पदक



किरन धामी, दार्चुला ।
४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा दार्चुलाको महाकाली नगरपालिकाले चार जना उत्कृष्ट शिक्षकलाई नगर शिक्षा पदक लेखिएको चाँदीको पदक प्रदान गरेको छ ।

दिवसको अवसरमा खलंगाको खुल्ला मञ्चमा आयोजित भव्य समारोहमा महाकाली नगरपालिका भित्र संचालनमा रहेका आधारभुत तथा माद्यमिक विद्यालयमा कार्यरत चार जना शिक्षकलाई उक्त नगर शिक्षा पदक प्रदान गरिएको हो । विद्यालयमा कार्यरत रही शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेवाफत उनिहरुलाई चाँदीको पदक प्रदान गरिएको महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले बताउनुभयो ।

महाकाली नगरपालिका‐९ दत्तुमा संचालनमा रहेको राष्ट्रिय मावि दत्तुमा कार्यरत रुक्मणी चैसिर, वडा नम्बर ४ मा संचालनमा रहेको मोती महिला संघ आधारभुत विद्यालयका प्रधानाध्यापक चमक सिंह तिंकरी, महेन्द्र नमुना माद्यमिक विद्यालय खलंगामा कार्यरत तलसी खत्री र वडा नम्बर ७ धाँपमा रहेको मालिकार्जुन नमुना माद्यमिक विद्यालयका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकीलाई शिक्षा क्षेत्रमा प्रशंसनीय काम गरेवाफत चाँदीको पदक प्रदान गरिएकोे उहाले बताउनुभयो ।

महाकाली नगरपालिकालाई शैक्षिक नगरीको रुपमा स्थापना गर्न नगरपालिकाले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यक्रममा नगरपालिका क्षेत्र भित्र संचालनमा रहेका दुई सामुदायिक विद्यालयलाई पुरुष्कृत गरिएको छ । नगरपालिकालाई शैक्षिक नगरीको रुपमा विकसित गर्ने अभियानमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै ति विद्यालयहरुलाई पुरुष्कृत गरिएको नगर प्रमुख भट्टले जानकारी दिनुभयो ।

पुरुष्कृत हुने विद्यालयहरुमा वडा नम्बर १ छापरीमा रहेको छापरी आधारभुत विद्यालय छापरी र जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माविलाई पुरुष्कृत गरिएको हो । महेन्द्र नमुना माविलाई रु ३० हजार नगद प्रमाण पत्र तथा छापरी आधारभुत विद्यालयलाई रु २० हजार नगद र प्रमाण पत्र प्रदान गर्दै पुरुष्कृत गरिएको उहाको भनाई छ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा महाकाली नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्