बुद्ध जन्मस्थलबारे कुप्रचारलाई प्रतियोगिताले निरुत्साहित गर्नेछ



जीवन गिरी, अध्यक्ष
कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ

कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले आगामी असोजको दोस्रो साता ‘कपिलवस्तुश्री’ खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै छ। त्यस क्षेत्रमा पहिलोपटक राष्ट्रियस्तरको शारीरिक सुगठन हुन लागेको कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष जीवन गिरी बताउनुहुन्छ। दक्षिण एसियाली बडी बिल्डिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता उहाँ छैटौं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको च्याम्पियनसमेत हुनुहुन्छ। आगामी असोज १० र ११ गते गरी दुई दिन हुने प्रतियोगिताको विषयमा उहाँसँग नेपाल समाचारपत्रका लागि कविरस शर्माले गरेको कुराकानी:

बडी बिल्डिङ र तपाईंको सम्बन्धका बारे केही बताइदिनुस् न।

२०५५ सालमा छैटौं धर्मश्री प्रतियोगिता जितेको थिए। भारतमा भएको पहिलो दक्षिण एसियाली बडी बिल्डिङ प्रतियोगितामा पनि मैले कांस्य पदक जितेको थिएँ।

अहिले मैले पाँचवटा जिम सञ्चालन गरिरहेको छु। कपिलवस्तु मेरो जन्मथलो हो। त्यसैले यसपटक मैले कपिलवस्तुमा नै राष्ट्रियस्तरको बडी बिल्डिङ प्रतियोगिता गर्ने जमर्को गरेको हुँ।

प्रतियोगिताका लागि सबै क्षेत्रका व्यक्तिले सहयोग गरेको देख्दा म धेरै उत्साहित पनि छु। कपिलवस्तु भनेको नेपालमा मात्र छ र अन्य ठाउँमा छैन भनेर प्रचार गर्न पनि यसले ठूलो भूमिका खेल्नेछ भन्ने मलाई लाग्छ।

विश्वप प्रसिद्ध धार्मिक स्थलमा प्रतियोगिता गर्ने सोच कसरी आयो ?

तिलौराकोटमा पहिलोपटक बडी बिल्डिङ प्रतियोगिता गर्न लागिएको हो। बुद्ध जन्मस्थल लुम्बिनीको कपिलवस्तुस्थित तिलौराकोटको व्यापक प्रचार गर्ने उद्देश्यले नै मैले यो प्रतियोगिता गर्न लागेको हुँ।

अहिले भारतमा पनि नेपालको कपिलवस्तुसँग मिल्दोजुल्दो स्थान बनाइएको छ। जसलाई युट्युबमार्फत सक्कली कपिलवस्तु नै हो भनेर गलत प्रचार गरिएको छ।

त्यसलाई गलत सावित गर्न पनि यो प्रतियोगिताले सघाउनेछ। बुद्ध जन्मस्थलबारेको यस्ता कुप्रचारलाई यस प्रतियोगिताले निरुत्साहित गर्न सहयोग पुर्याउनेछ भन्ने मलाई लाग्छ।

संरक्षित सम्पदा क्षेत्रमा नै प्रतियोगिता गराउनुको उद्देश्य के होला ?

जंगलमा रहेको राजाको दरबार परिसरमा प्रतियोगिता हुन लागेकाले यसले राम्रो प्रचार पाउनेमा आशावादी छु। सम्भवतः कपिलवस्तुको राजधानी तिलौराकोटमा हुने यस प्रतियोगिता विश्वमा नै दुर्लभ हुनेछ भन्ने मलाई लागेको छ।

ऐतिहासिक स्थल भएकाले प्रतियोगिताका लागि खाल्डो खन्न निषेध गरिएको छ। तर, खाल्डो नखनिकन नै हामी उच्चस्तरको व्यवस्था मिलाउँछौं। यसअघि पनि मैले २०५२ र ५४ सालमा क्षेत्रीयस्तर र अञ्चलस्तरीय प्रतियोगिता गराइसकेको छु।

प्रतियोगिता कसरी हुँदै छ ?

५५ देखि ७५ किलोग्रामभन्दा माथिका गरी कुल ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछन्। जसअन्तर्गत ओभरअल विजेताले २ लाख नगद पुरस्कार पाउनेछन्। यस्तै आफ्नो तौल समूहको प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन्। नेपाल बडी बिल्डिङ संघले १० जना जज उपलब्ध गराउनेछ।

प्रतियोगितामा नेपाल बडी बिल्डिङ संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, भारतीय जनता दल पार्टीको दिल्लीका नेता तथा बडी बिल्डिङका अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रशिक्षक सुभाष भनानालगायतका अतिथिहरूको उपस्थिति रहनेछन्।

बजेट कति लाग्नेछ ?

यसो हेर्दा करिब २० लाख लाग्ने अनुमान गरिएको छ। जसमध्ये ५ लाख कपिलवस्तु नगरपालिकाले दिनेछ भने बाँकी रकमका लागि देश–विदेशमा रहेका सहकर्मी तथा मित्रहरूमार्फत संकलन गर्नतिर लागेको छु।

सहभागी खेलाडीलाई के–कस्तो व्यवस्था हुनेछ ?

प्रतिस्पर्धाका लागि आउने खेलाडीलाई प्रवेश शुल्क राखिएको छैन। दुईदिने प्रतियोगिताका लागि आउने खेलाडीलाई दैनिक १ हजार भत्ताको पनि व्यवस्था गर्नेर्छौं।

देशभरिबाट अनुमानित खेलाडी संख्या कति हुनेछन् ?

१ सयभन्दा बढी नै खेलाडी सहभागी हुनेछन् भन्ने लागेको छ। यो पहिलोपटक गर्न लागेकाले मैले पुरुष विधालाई बढी केन्द्रित गरेको छु।

यसपटक प्रतियोगितामा पुरुष खेलाडीले मात्र खेल्नेछन्। त्यसैले अनुमान गरेभन्दा कम संख्या पनि हुन सक्नेछ।

ग्रामीण भेगमा ठूलो बजेटमा प्रतियोगिता गराउनुको उद्देश्य के होला ?

म त्यहीं जन्मेको मान्छे हुँ। त्यहींको माटोमा खेलेको हुर्केको। नेपालकै प्रतिष्ठित बडी बिल्डिङ प्रतियोगिता धर्मश्रीको छैटौं संस्करण विजेता भएकाले पनि आफ्नो गाउँ ठाउँमा यो खेलको प्रवद्र्धन गर्न मैले यो प्रतियोगिता गर्न लागेको हुँ।

कपिलवस्तु जिल्ला शारीरिक सुगठन संघको अध्यक्ष म आफंै भएकाले पनि केही गर्नुपर्छ भनेर यो प्रतियोगिता गर्न लागिपरेको छु।

प्रतियोगिताका लागि सरकारीस्तरबाट कस्तो सहयोग हुनेछ ?

सरकारी तवरबाट भन्नुपर्दा भिजिट नेपाल–२०२० अन्तर्गत पर्यटनमन्त्री योगेश भट्टराईले सहयोग गर्ने आश्वासन दिनुभएको छ। हामीले आशा गरेका छौं उहाँको सहयोग पाउनेछौं।

 

प्रतिक्रिया दिनुहोस्