न्यु समिट र एसियन सेमिफाइनलमा



काठमाडौं, (नेस)।न्यु समिट र एसियन पब्लिक स्कुल १०औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

शनिबार शंखमूलस्थित एआईएको कोर्टमा भएको खेलमा न्यु समिटले हेम्सलाई ४९–१३ ले पराजित गरेको हो। टोलीको जितमा शशांक मगरले सर्वाधिक १४ अंक योगदान गरे। त्यस्तै रोहित गुरुङको १४ अंकको योगदानमा एसियन पब्लिकले सेन्ट पाउललाई ३४–२२ ले हराएको थियो।

यसै गरी प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजमै काठमाडौं जेभियर र स्पाङ्गेल पनि आ–आफ्नो खेल जित्दै अन्तिम चारमा पुगेका छन्। काठमाडौं जेभियरले घरेलु टोली एआईएलाई ४९–३५ ले पाखा लगाएको थियो।

टोलीलाई जित दिलाउन जेभियरका रोहन दासले २२ स्कोर गरेका थिए। अर्को खेलमा स्पाङ्गेलले चैतन्यको चुनौती ५०–३० ले समाप्त पारेको थियो। विजेता टोलीका रोहित बलामीले सर्वाधिक ३४ अंक जोडेका थिए।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा भएको प्रतियोगिताको ब्वाइज सेमिफाइनलमा स्पाङ्गेलले न्यु समिट र काठमाडौं जेभियरले एसियनको सामना गर्नेछन्।

त्यस्तै सिनियर गल्र्सको अन्तिम चारमा काठमाडौं जेभियर, एसियन पब्लिक, इनोभेटिभ र स्वप्न वाटिकाले स्थान बनाएका छन्। यसै गरी जुनियर ब्वाइजको अन्तिम चारमा एसियन, हेम्स, चैतन्य र स्वप्न वाटिका पुगेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्